प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले ‘देश बनाउने टोली’ भनी सार्वजनिक रूपमा प्रशंसा गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल यतिबेला एउटा अभिव्यक्तिका कारण चर्चा र विवादको केन्द्रमा छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको निरीक्षणका क्रममा ठेकेदारको ढिलासुस्तीप्रति रुष्ट हुँदै उनले दिएको कडा निर्देशनलाई लिएर अहिले विभिन्न कोणबाट आलोचना भइरहेको छ।
निरीक्षणका क्रममा मन्त्री लम्सालले 'बिजुलीको पोलको कन्ट्रयाक्टर कहाँ छ ? त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू' भनेपछि कतिपयले यसलाई कानुन हातमा लिएको वा हिंसात्मक अभिव्यक्तिका रूपमा अथ्र्याएका छन्। तर, भाषा र साहित्यको गहिराइ बुझ्ने हो भने मन्त्रीको यो भनाइलाई केवल शाब्दिक अर्थमा मात्रै लिनु अन्याय हुन जान्छ।
साहित्यिक दृष्टिकोणबाट हेर्दा मन्त्री लम्सालको यो भनाइ एउटा स्पष्ट 'रूपक' (Metaphor) हो। रूपकले कुनै पनि कुरालाई अर्को असम्बन्धित कुरासँग सीधै तुलना गरेर गहिरो अर्थ दिन्छ। यहाँ 'खुट्टा भाँच्ने' कुरा ठेकेदारको भौतिक शरीरमाथिको आक्रमण पक्कै होइन, बरु वर्षौंदेखि जरा गाडेर बसेको ढिलासुस्ती, कामचोर प्रवृत्ति र बेवास्ताको 'खुट्टा भाँच्ने' अर्थात् त्यसलाई जरैदेखि उखेल्ने विम्बात्मक अर्थ हो। जसरी 'समय चोर हो' भन्दा समयले साँच्चै पर्स चोर्दैन, त्यसैगरी मन्त्रीको भनाइले ठेकेदारको लापरबाहीलाई तोड्ने सन्देश दिएको हो।
यसलाई 'मानवीकरण' (Personification) को पाटोबाट पनि बुझ्न सकिन्छ। विकास निर्माणमा देखिएको विकृति, अवरोध र निर्जीव प्रशासनिक झमेलालाई मन्त्रीले ठेकेदारको रूपमा मानवीकरण गरेका हुन्। ठेकेदारले काम नगर्दा जनताले भोगिरहेको चरम सास्ती र विकासको ढोका थुन्ने प्रवृत्तिको प्रतीकका रूपमा उनले त्यो आक्रोश पोखेका हुन्। हावाले 'हुइँय गरेर करायो' भन्दा हावा साँच्चै नकराए जस्तै, मन्त्रीको निर्देशन पनि कामप्रतिको तड्पाइ र हुटहुटीको मानवीकृत रूप हो।
आयोजनाको यथार्थ हेर्ने हो भने मन्त्रीको यो आलंकारिक आक्रोश नितान्त स्वाभाविक देखिन्छ। सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच तीन वर्षअघि नै पोल सार्ने सम्झौता भए पनि पश्चिम खण्डमा अझै १०७ र पूर्वी खण्डमा ८० भन्दा बढी पोल सार्ने बाँकी छ। ठेकेदारको यही चरम लापरबाहीले गर्दा सर्वसाधारण जनताले दिनहुँ धुलो र हिलोको सास्ती खेप्नुपरेको छ। जनताको यही पीडा मन्त्रीको बोलीमा रूपक बनेर पोखिएको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले पनि मन्त्रीको भनाइलाई शाब्दिक अर्थमा नलिन र यसलाई काम छिटो गराउने आशयको रूपमा बुझ्न आग्रह गरेकी छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले समेत बहानाबाजी गर्ने र राज्य संयन्त्रलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध मन्त्रीले कडा संदेश दिएको भन्दै उनको बलियो बचाउ गरेका छन्।
मन्त्री लम्सालको अभिव्यक्ति विवादमा आइरहँदा प्रधानमन्त्री बालेन साहले सामाजिक सञ्जालमा मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङसँगको हाँसिरहेको तस्बिर राख्दै रोमनमा ‘देश बनाउने टोली’ भनेर लेखेका छन्। यसले पनि सरकार काम र परिणाममा विश्वास गर्छ र विकासका लागि कडा रूपक र शैली अपनाउन पछि पर्दैन भन्ने प्रस्ट सन्देश दिएको छ।
जनताले वर्षौंदेखि विकासको पर्खाइमा दुःख पाइरहेको बेला मन्त्रीले प्रयोग गरेको एउटा आलंकारिक र प्रतीकात्मक भाषालाई लिएर विवाद झिक्नुभन्दा कामको परिणामतर्फ ध्यान दिनु जरुरी छ। लोकतन्त्रमा विधिको शासन महत्त्वपूर्ण भए पनि, जनतालाई सास्ती दिने प्रवृत्तिको 'खुट्टा भाँच्न' अर्थात् अन्त्य गर्न यस्तै कठोर साहित्यिक सन्देशको आवश्यकता नेपाली राजनीतिमा महसुस हुन थालेको छ।