जनकपुरधाम, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले नागरिकका वास्तविक समस्या पहिचान गरी नीतिगत समाधान खोज्ने उद्देश्यसहित सोमबारदेखि ६० दिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय र पार्टीको झन्डा हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरे।
सर्वाधिक जनघनत्व रहेको तराई–मधेसको हुलाकी राजमार्ग केन्द्रित यो यात्रालाई आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको पूर्वतयारीका रूपमा हेरिएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा मधेसका ३२ मध्ये ३० क्षेत्रमा जित र ५७ प्रतिशतभन्दा बढी समानुपातिक मत पाएको रास्वपाले आगामी निर्वाचनमा समेत बलियो पकड कायम राख्न जनस्तरका मुद्दाको एकीकृत अभिलेखीकरण (होलिस्टिक डेटाबेस) तयार पार्न लागेको हो। संघीय जनमतलाई प्रादेशिक र स्थानीय संरचनामा रूपान्तरण गर्दै नागरिकलाई प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउन पार्टीले तथ्यांक संकलनलाई प्राथमिकता दिएको छ।
सर्लाही–४ का सांसद सिंहले परम्परागत राजनीतिक शैलीभन्दा भिन्न 'कम बोल्ने र धेरै सुन्ने' नीति अवलम्बन गरिने बताए। दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए। प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने बस्तीमा पुगेर नागरिकका गुनासा, अनुभव र अपेक्षा संकलन गरिनेछ।
अभियानका क्रममा स्थानीय उत्पादन, बजारीकरणका अवरोध र अर्थतन्त्र सुदृढ पार्ने उपायबारे नागरिकसँगै बसेर आवश्यकता पहिचान (निड एसेसमेन्ट) गरिनेछ। लामो समयदेखि कारागारमा रहेका, अन्यायमा परेका तथा राजनीतिक–प्रशासनिक दबाबबाट पीडित नागरिकका तथ्य संकलन गरी कानुनी सुधारको पहल गरिने सिंहले बताए। यस्तै, जनजीवन सहज बनाउन तीनै तहका सरकार र मन्त्रिपरिषद्बाट गरिनुपर्ने नीतिगत निर्णयका सुझावसमेत संकलन गरी संसद् र सरकारसमक्ष पुर्याइनेछ।
सीमा र सीमावर्ती समाजको संरक्षणमा योगदान पुर्याउने स्थानीयलाई 'सामाजिक हिरो' का रूपमा सम्मान गर्दै सीमाक्षेत्रका समस्यासमेत अभिलेखीकरण गरिनेछ। ग्रामीण तथा अस्थायी प्रहरी चौकीका सुरक्षाकर्मीको आवास, स्रोतसाधन र मनोबलको अवस्था बुझेर प्रशासन सुधारको योजना बनाइने जनाइएको छ। साथै, महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, मुस्लिम र सीमान्तकृत समुदायका आवाज समेट्दै स्थानीय खानपान र संस्कृतिमार्फत हिमाल, पहाड र तराईबीच सामाजिक एकताको सन्देश प्रवाह गरिनेछ।
झापाको भद्रपुरस्थित मेची पुलबाट पैदल यात्रा अघि बढाउँदै आगामी माघ १ गते महाकाली किनारमा पुगेर पहिलो चरण सम्पन्न गरिनेछ। यात्राबाट संकलित समस्या, सम्भावना र समाधानका उपाय समेटेर तीन प्रति प्रतिवेदन तयार पारिने सिंहले बताए। जसमध्ये एक–एक प्रति पुस्तकका रूपमा रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइनेछ भने तेस्रो प्रति संसद्को नीति निर्माण तहमा प्रस्तुत गरिनेछ। पहिलो चरणपछि आगामी वैशाखमा मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म दोस्रो चरणको पदयात्रा गरिनेछ।