शुल्क उठाउने निर्णय
आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले १२ कात्तिकमा एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो।
कानुनी व्यवस्था र निर्णय आधार
सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचना अनुसार सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग अनुसार शुल्क लिने व्यवस्था गरिएको छ।

वर्ग अनुसारको शुल्क ढाँचा
जारी सूचना अनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ।
यसैगरी वर्ग २ अर्थात् मिनी बस, मिनी टिपर वा ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।
वर्ग ३ अर्थात् बस र ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक, भारी सवारी साधन र भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ।