धनुषा क्षेत्र नम्बर २ बाट ४१ हजार ६ सय ३७ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राम विनोद यादव पत्रकार अरुण सिंघानिया हत्या प्रकरणमा तीन वर्ष कैद सजाय भुक्तान गरेका दोषी व्यक्ति हुन्। जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरले मुख्य योजनाकार सञ्जय साह 'टकला'को मुख्य सहयोगीका रूपमा उनी दोषी रहेको पुष्टि गरेका थिए।
अदालती फैसला अनुसार २०६६ फागुन १७ गते जनकपुर टुडेका प्रकाशक सिंघानियाको हत्या योजना बनाउन, हतियार व्यवस्थापन गर्न र जनकपुरको रामा होटेलमा सुटरहरूलाई हतियार हस्तान्तरण गर्न यादवको मुख्य भूमिका रहेको थियो। प्रहरी तथ्याङ्क अनुसार उनी २०५४ सालदेखि कुटपित, प्रहरीमाथि आक्रमण, गोलीप्रहार र डकैतीजस्ता शृङ्खलाबद्ध अपराधमा समेत संलग्न रहँदै आएका थिए।
निर्वाचन कानुन अनुसार कैद भुक्तान गरेको ६ वर्षपछि उम्मेदवार बन्न पाइने प्रावधान रहेकाले २०८२ साउन ३२ मा सो अवधि पूरा भएसँगै उनी रास्वपामा प्रवेश गरी प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बनेका थिए। कानुनतः उम्मेदवार बन्न योग्य देखिए पनि सुशासन र विधिको शासनको वकालत गर्ने रास्वपाले जघन्य अपराधमा दोषी ठहरिएका व्यक्तिलाई सांसद बनाएको भन्दै आलोचना सुरु भएको छ।
पार्टी उपाध्यक्ष डीपी अर्यालले समेत यादवको पक्षमा विशेष भिडियो सन्देश जारी गर्दै चुनावी प्रचार गरेका थिए। विगतमा मिर्जा दिलसाद बेग, मोहम्मद आफताव आलम र सञ्जय साह टकलाजस्ता आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू राजनीतिमा उदाएझैँ यादवको जितले मधेस राजनीतिमा अपराधको प्रभाव पुनः दोहोरिएको विश्लेषण गरिएको छ।