नेपाली चलचित्र उद्योगको व्यावसायिक यात्रामा एउटा महत्वपूर्ण तथ्यांक बाहिर आएको छ। चलचित्र विकास बोर्डले आफ्नो स्थापना कालदेखि हालसम्म ७ करोड रूपैयाँभन्दा बढी व्यापार गर्न सफल ३१ वटा ब्लकबस्टर फिल्महरूको सूची आधिकारिक रूपमा बाहिर ल्याएको हो।

मंगलबार बोर्डको २६ औं वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको यो विवरणले विगत २६ वर्षको समयावधिलाई समेटेको भनिए तापनि यसलाई नेपाली चलचित्रको ६० वर्ष लामो समग्र इतिहासकै सर्वाधिक कमाउने चलचित्रहरूको आधिकारिक दस्ताबेज मानिएको छ।

यस राष्ट्रिय सूचीको पहिलो स्थानमा वि.सं. २०८१ मा प्रदर्शनमा आएको चलचित्र 'पूर्णबहादुरको सारंगी' रहेको छ। यस चलचित्रले घरेलु बजारबाट ४६ करोड ७७ लाख रूपैयाँभन्दा बढीको ऐतिहासिक ग्रस कलेक्सन गरेको बोर्डको विवरणमा उल्लेख छ।

यस्तै, वि.सं. २०७९ मा रिलिज भएको 'कबड्डी ४' २१ करोड ४० लाख रूपैयाँभन्दा बढी कमाउँदै दोस्रो स्थानमा सुरक्षित छ। तेस्रो स्थानमा रहेको वि.सं. २०८१ को चलचित्र '१२ गाउँ' ले १९ करोड ९२ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेको छ।

चौथो र पाँचौं स्थानमा क्रमशः 'परान' र 'छक्का पञ्जा ४' रहेका छन्। वि.सं. २०७२ मा प्रदर्शन भएको 'परान' ले १७ करोड ७६ लाख रूपैयाँभन्दा बढी र वि.सं. २०७९ को 'छक्का पञ्जा ४' ले १७ करोड ५३ लाख रूपैयाँभन्दा बढी संकलन गरेका थिए।

ADVERTISEMENT Nepal Aaja Register

यो आर्थिक विवरणले नेपाली सिनेमा बजारको आधुनिक विस्तारलाई प्रष्ट पार्छ। सूचीकृत ३१ चलचित्रमध्ये वि.सं. २०५८ मा रिलिज भएको 'आगो' बाहेक बाँकी सबै ३० वटा सफल चलचित्रहरू वि.सं. २०७० सालयता मात्र प्रदर्शनमा आएका हुन्।

चलचित्र विकास बोर्डका अनुसार यस प्रकारको तथ्यांक संकलनले चलचित्र उद्योगको व्यावसायिक विकासको अभिलेखीकरण गर्न, बजारको दायरा बुझ्न र दर्शकसँगको सामीप्यतालाई थप बलियो बनाउन मार्गनिर्देशन गर्नेछ।

बोर्डले सार्वजनिक गरेको ३१ चलचित्रको पूरा सूची र तिनको कमाइ यस प्रकार छ:

१. पूर्णबहादुरको सारंगी – ४६ करोड ७७ लाख रूपैयाँ
२. कबड्डी ४ – २१ करोड ४० लाख रूपैयाँ
३. १२ गाउँ – १९ करोड ९२ लाख रूपैयाँ
४. परान – १७ करोड ७६ लाख रूपैयाँ
५. छक्का पञ्जा ४ – १७ करोड ५३ लाख रूपैयाँ
६. जारी – १७ करोड ४८ लाख रूपैयाँ
७. छक्का पञ्जा १ – १६ करोड १० लाख रूपैयाँ
८. महाजात्रा – १५ करोड ६७ लाख रूपैयाँ
९. छक्का पञ्जा ५ – १५ करोड २० लाख रूपैयाँ
१०. कोहिनूर – १४ करोड ७५ लाख रूपैयाँ
११. छक्का पञ्जा २ – १४ करोड ५१ लाख रूपैयाँ
१२. आबाट आमा – १३ करोड २० लाख रूपैयाँ
१३. शत्रु गते – १२ करोड ६५ लाख रूपैयाँ
१४. जेरी अन टप – १२ करोड २८ लाख रूपैयाँ
१५. ऊनको स्वीटर – १० करोड ६२ लाख रूपैयाँ
१६. कबड्डी कबड्डी – १० करोड ३५ लाख रूपैयाँ
१७. बोक्सीको घर – १० करोड १० लाख रूपैयाँ
१८. छ माया छपक्कै – ९ करोड ९२ लाख रूपैयाँ
१९. लालीबजार – ९ करोड ३१ लाख रूपैयाँ
२०. लुट २ – ९ करोड २१ लाख रूपैयाँ
२१. दिमाग खराब – ८ करोड ९८ लाख रूपैयाँ
२२. अञ्जिला – ८ करोड ८३ लाख रूपैयाँ
२३. परदेशी २ – ७ करोड ९२ लाख रूपैयाँ
२४. छक्का पञ्जा ३ – ७ करोड ७३ लाख रूपैयाँ
२५. प्रेम गीत ३ – ७ करोड ६३ लाख रूपैयाँ
२६. कबड्डी कबड्डी कबड्डी – ७ करोड ५९ लाख रूपैयाँ
२७. पुजार सार्की – ७ करोड ३८ लाख रूपैयाँ
२८. महापुरूष – ७ करोड ३५ लाख रूपैयाँ
२८. कबड्डी – ७ करोड ३४ लाख रूपैयाँ
३०. पशुपति प्रसाद २ः भस्मेडन – ७ करोड ३२ लाख रूपैयाँ
३१. आगो – ७ करोड २० लाख रूपैयाँ