बीमा पहुँच विस्तार र अभिकर्ता सञ्जालको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको 'स्टार अवार्ड २०८२-८३' कार्यक्रमको श्रृंखला सफलताका साथ सम्पन्न गरेको छ। असोज ४ गते इटहरीबाट सुरु भई असोज १५ गते पोखरामा समापन भएको यस देशव्यापी अभियानमा १,०६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई स्टार अवार्ड प्रदान गरिएको छ।
इटहरी, बर्दिवास, बुटवल, नारायणगढ, काठमाडौँ, धनगढी, सुर्खेत र पोखरा गरी आठ प्रमुख व्यावसायिक केन्द्रहरूमा आयोजित यस कार्यक्रममा कुल २,५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो। केवल सम्मानमा मात्र सीमित नराखी कार्यक्रमलाई ज्ञान अभिवृद्धि र अनुभव आदानप्रदानको थलो बनाइएको थियो, जहाँ बिक्री तथा उत्प्रेरक प्रशिक्षक किसु झाले सबै स्थानमा व्यावसायिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता सञ्जाललाई ग्राहकसँगको सम्बन्ध र व्यवसाय विस्तारको मुख्य खम्बाका रूपमा चित्रण गर्नुभयो। अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्दै उहाँले हालैका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रभावित बीमित र अभिकर्ताहरूलाई आवश्यक सहयोग पुर्याउन पहल भइरहेको जानकारी दिनुभयो।
नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, र पेशागत बीमा अभिकर्ता संघका नेतृत्वकर्ताहरू ओमबहादुर केसी तथा गणेश अधिकारीले कम्पनीको बजार हिस्सा बढाउन र बीमाप्रति जनविश्वास सुदृढ बनाउन अभिकर्ताहरूको भूमिका निर्णायक हुने बताउनुभयो। साथै, सामाजिक सञ्जालमा तथ्यहीन सामग्री सम्प्रेषण नगर्न र आफ्नो पेसागत मर्यादा कायम राख्न समेत आह्वान गरिएको थियो।
उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै सञ्चालन गरिएको यो क्षेत्रीय अभियानले नेपालको बीमा क्षेत्रमा दक्ष र मर्यादित जनशक्ति तयार पार्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।