राजविराज । आर्थिक कमजोर अवस्थाका कारण छठ पर्व मनाउन कठिनाइ भोगिरहेका राजविराज नगरपालिका वडा नम्बर ६ स्थित पुर्नी पोखरी टोलका ५१ विपन्न परिवारमा यतिबेला उत्साह छाएको छ। पर्वका लागि अत्यावश्यक सामग्रीहरू प्राप्त भएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै सहज रूपमा छठ मनाउने वातावरण बनेको महसुस गरेका छन्।
सप्तरीको राजविराजमा क्रियाशील तराई मधेश महिला फाउन्डेसन नेपालले ती परिवारहरूलाई छठ पूजामा आवश्यक पर्ने साडी, नरिवल तथा सिँगारका विभिन्न सामग्रीहरू उपलब्ध गराएको हो। यस सहयोगले आर्थिक अवस्था कमजोर भएका परिवारलाई पर्वको धार्मिक विधि पूरा गर्न प्रत्यक्ष राहत पुर्याएको छ।
फाउन्डेसनकी अध्यक्ष सुनिता कुमारी साहका अनुसार विपन्न वर्गलाई चाडपर्वको समयमा सहज होस् भन्ने उद्देश्यले संस्थाले विगतका वर्षहरूमा जस्तै यसपटक पनि सहयोगलाई निरन्तरता दिएको हो। कमजोर आर्थिक अवस्था भएका परिवारले पनि सहज ढंगले छठ मनाउन सकून् भन्ने संस्थाको मुख्य ध्येय रहेको उहाँले जानकारी दिनुभयो।
संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउने जनाएको छ।