नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन डिजिटल माध्यमको अभावले निर्यात सम्भावनामा असर परिरहेको भन्दै इ–कमर्स प्रणाली विकासको आवश्यकता औंल्याइएको छ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालमा विदेशबाट सामान किन्नेभन्दा आफ्ना उत्पादन विदेशमा बेच्न सक्ने अनलाइन प्लेटफर्म निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार अहिलेको व्यवस्था आयाततर्फ केन्द्रित रहेकाले निर्यात विस्तारमा चुनौती देखिएको छ।
उहाँले नेपालमै प्रभावकारी इ–कमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरी पेपल र अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्ता कम्पनीहरूको उपस्थितिले नेपाली उत्पादनको विश्व बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष पाण्डेले निर्यात अनुदान र कर प्रणालीमा देखिएका समस्याले पनि निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गर्नुभयो। हरेक वर्ष परिवर्तन हुने कार्यविधिले व्यवसायीहरूलाई अन्योलमा पार्ने उहाँको भनाइ छ।
सरकारी प्रक्रियालाई फेसलेस प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले यसले निर्यात प्रक्रिया सरल र प्रभावकारी बनाउने बताउनुभयो।
विदेशमा रहेका नेपालीहरूबाट आउने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै निर्यात क्षेत्र सुदृढ गर्न समन्वित पहल आवश्यक रहेको उहाँले बताउनुभयो।