अनुष्का धामी - ठूला दलका नेताहरुको दम्भ ढलेको आज एक वर्ष पुरा, कांग्रेसमा गगनको उदय, एमालेमा ओलीकै दबदबा, कम्युनिष्ट पार्टीमा एकता, साँच्चै बदलिए त नेपालका ठूला राजनीतिक दल? जेनजी आन्दोलन पछि गुमनाम भएका नेपालका ठूला पार्टिहरु भित्र के कस्तो भयो त परिवर्तन?
जेनजी आन्दोलन सँगै ठूला दलका ठूला नेताहरु कुटिएको, उनीहरुको निवास जलेको सार्वजनिक संरचनाहरु ध्वस्त भएको आज ठीक एक वर्ष पूरा भएको छ। त्यो आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र दशकौँदेखि सत्ताको केन्द्रमा रहेका पुराना राजनीतिक दलहरूलाई एकैपटक रक्षात्मक अवस्थामा पुर्यायो।
तत्कालीन सरकारले अचानक २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै एक वर्ष अघि जेनजी पुस्ता सडकमा उत्रिएको थियो। भदौ २३ गते सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन भदौ २४ सम्म आइपुग्दा सुरक्षा निकायसँगको झडपपछि हिंसात्मक बन्न पुग्यो।
प्रहरीको दमन र प्रदर्शनकारीसँगको झडपका क्रममा ७० जनाभन्दा बढीले ज्यान गुमाए। प्रदर्शनमा विद्यार्थी र युवाहरूमाथि गोली प्रहार भएर उनीहरू सडकमै ढलेपछि आन्दोलनले झन् उग्र रूप लियो।
आन्दोलनको भोलिपल्ट अर्थात आजकै दिन युवाहरूको आक्रोश देशभर फैलियो, जसका कारण सिंहदरबार, संसद् भवन, प्रहरी चौकी, सरकारी भवन तथा नेताहरूका घरहरूमाथि तोडफोड र आगजनीका घटना भए। कतिपय नेताहरू कुटिए, लखेटिए र ज्यान जोगाउन लुकेर बस्नुपर्ने अवस्थामा पुगे।
त्यसपछि नेपालको पुरानो राजनीतिक शक्ति एकाएक कमजोर र रक्षात्मक अवस्थामा पुग्यो। वर्षौँदेखि सत्ताको केन्द्रमा रहेका पुराना दलका नेताहरू तितरबितर भए। जेनजी आन्दोलनपछि एक-दुई महिनासम्म धेरै शीर्ष नेताहरू सार्वजनिक रूपमा समेत देखिएनन्। तर आन्दोलनले पुराना दलहरूलाई एउटा गम्भीर सन्देश दिएको थियो। जनताको आवाजलाई बेवास्ता गर्ने राजनीति अब पहिलेको जस्तो सुरक्षित छैन।
आज, जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सबैभन्दा ठूलो प्रश्न यही हो कि आन्दोलनले दिएको त्यो पाठ नेपालका पुराना राजनीतिक दलहरूले कति आत्मसात् गरे? भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारका आरोप खेप्दै सत्ता गुमाएका दलहरूले यो एक वर्षमा आफूलाई कति परिवर्तन गरे? आज हामी नेपालका प्रमुख तीन राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी अर्थात नेपाली कम्युनिष्ट पार्टीको अवस्थाबारे चर्चा गर्दैछौँ।
यी तीनै राजनीतिक शक्तिहरू एकपछि अर्को गर्दै सत्तामा पुगे, दशकौँसम्म देशको राजनीतिक दिशा तय गरे र राज्यको ढुकुटी सम्हाले। तर जेनजी आन्दोलनपछि जनताले तिनै दललाई एउटा नयाँ प्रश्न सोधे। अब तपाईंहरू बदलिनुहुन्छ कि फेरि पुरानै शैली दोहोर्याउनुहुन्छ?
नेपाली कांग्रेसको अवस्था
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्यो। आन्दोलनमा जेनजीहरुबाट कुटाई नै खाएपछि पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणा देउवा पार्टीको बागडोर पूर्णबहादुर खड्काको जिम्मामा छोडेर उपचारका लागि विदेश उडे। यता पार्टीभित्र भने युवाहरूको आवाज र ऊर्जा बलियो बन्दै गयो।
वर्षौँदेखि एउटै नेतृत्वको प्रभावमा रहेको कांग्रेसभित्र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज उठ्न थाल्यो। अन्ततः १४औँ महाधिवेशनबाट गगन थापा पार्टी नेतृत्वमा पुगे र नेपाली कांग्रेसका सभापति बने। यद्यपि संस्थापन पक्षले उनको नेतृत्वमाथि प्रश्न उठाउँदै विरोध जारी राख्यो र पार्टीभित्र विवाद पनि चर्कियो। तर निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि गगन थापाको नेतृत्वमा पार्टी निर्वाचनमा गयो। तर चुनावी मैदानमा कांग्रेसले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेन। जेनजी आन्दोलनपछि युवामाझ तीव्र रूपमा लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बाजी मार्यो र कांग्रेसले धेरै ठाउँमा हार बेहोर्यो। पार्टी सभापति र प्रधानमन्त्रीकै दाबेदार रहेका गगन थापा नै हार्न पुगे।
तर हारपछि पनि गगन थापाले पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको देखिन्छ। पार्टीभित्र पुरानो संस्थापन पक्ष र नयाँ नेतृत्वबीच मतभेद रहे पनि पार्टीलाई एकताबद्ध बनाउने विषयमा गगन थापा सकारात्मक देखिएका छन्। निर्वाचनका क्रममा पनि गगन थापाले केवल आफ्ना निकट नेता वा पुराना अनुहारलाई मात्र प्राथमिकता नदिई नयाँ र युवा अनुहारलाई अवसर दिने प्रयास गरे। यसलाई कांग्रेसको रूपान्तरणको एउटा संकेतका रूपमा हेरिएको छ।
अहिले नेपाली कांग्रेस आफूलाई नयाँ पुस्तासँग जोड्ने प्रयासमा देखिन्छ। पार्टीलाई बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्यतर्फ फर्काउने चर्चा भइरहेको छ। कांग्रेसका केही नेताहरूले विगतमा भ्रष्टाचार, बेथिति र गलत अभ्यास देख्दा पनि मौन बसेको स्वीकार गर्न थालेका छन्। उनीहरूले विगतमा गल्ती भएको स्वीकार गर्दै अब त्यसबाट सिकेर अगाडि बढ्नुपर्ने बताइरहेका छन्।
अहिले पनि कांग्रेसमा आधिकारिकताको लडाइँ चलिरहेको छ। आफ्नै आन्तरिक शक्ति सङ्घर्ष र समानान्तर महाधिवेशनको भुमरीमा अल्झिएको छ। ९ महिनादेखिको आन्तरिक किचलो र सर्वोच्च अदालतमा विचाराधीन वैधानिकताको मुद्दाका बिच संस्थापन र शेरबहादुर देउवा नेतृत्वको इतर पक्षले १५औँ महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका अघि बढाएका छन्। संस्थापन समूहले असोज १६, १९ का लागि १५औँ महाधिवेशनको तालिका ल्याएको छ भने इतर समूहले मंसिरमा महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। यसले कांग्रेस विभाजनको संघारमा पुगेको छ।
तर प्रश्न अझै बाँकी छ—के केवल नेतृत्व परिवर्तनले कांग्रेस साँच्चै परिवर्तन हुन्छ, कि पार्टीको संरचना, सोच र राजनीतिक संस्कार पनि परिवर्तन हुन आवश्यक छ?
नेकपा एमालेको स्थिति
२०७२ सालतिर एमाले र केपी शर्मा ओलीको लोकप्रियता असाधारण थियो। "वी लभ केपी बा" भन्ने नारा देशभर सुनिन्थ्यो। आज प्रधानमन्त्री बालेन शाहको जति राजनीतिक चर्चा छ, त्यो समय केपी ओलीको राजनीतिक हाइप पनि अत्यन्त ठूलो थियो।
ओलीको नेतृत्वमा एमालेले चुनावहरूमा उल्लेखनीय सफलता हासिल गर्यो। तर समयसँगै राजनीतिक परिस्थिति बदलियो। एक समय अत्यन्त लोकप्रिय देखिएका केपी शर्मा ओली आज जनताको एउटा ठूलो हिस्साबाट आलोचित पात्रका रूपमा देखिन थाले। जेनजी आन्दोलनका क्रममा ज्यान जोगाउन भाग्नुपरेको अवस्थादेखि लिएर त्यसपछिका केही महिनासम्म सार्वजनिक कार्यक्रमबाट टाढा रहनुपरेको अवस्थासम्म एमालेले कठिन समय सामना गर्यो।
पार्टीभित्र रूपान्तरणको बहस सुरु भयो। नेतृत्व परिवर्तनको कुरा उठ्यो। तर अधिवेशनपछि फेरि केपी शर्मा ओली नै अध्यक्ष बने। ओली नेपाली राजनीतिका त्यस्ता नेता हुन्, जसलाई धेरैले सजिलै नझुक्ने नेताका रूपमा चिन्छन्। सत्ता गुमाएपछि पनि उनले आफ्नो शैली र अभिव्यक्ति परिवर्तन गर्न तयार भएको देखिएन। बरु उनको बोली र अभिव्यक्तिले बारम्बार विवाद सिर्जना गरिरह्यो। झापा ५ बाट निर्वाचनमा उठेका बालेन शाहसँग भारी मतले पराजित भएपछि रास्वपाको सरकार बन्यो। रास्वपाको सरकार बनेलगत्तै सुधन गुरुङ गृहमन्त्री नियुक्त भए र उनी गृहमन्त्री बनेको भोलिपल्टै केपी शर्मा ओली पक्राउ परे। ओली पक्राउ परेपछि एमाले नेताहरूले सडक आन्दोलनको चेतावनी दिए र उनको रिहाइका लागि व्यापक प्रयास गरे। पछि अदालतले पक्राउलाई मान्यता नदिएपछि उनीहरू रिहा भए।
तर एमालेमा उनीविरुद्धको आवाज रोकिएको छैन। ओलीकै विश्वासपात्र मानिएका महासचिव शंकर पोखरेलले पनि उनलाई साथ दिएका छैनन्। पोखरेलले नै एमालेमा पुनर्गठनको आवाज उठाइरहेका छन्। विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष ओलीले 'होल्ड' गरेका छन्। आफूविरुद्ध लागेकाहरुलाई आवाराहरुको संज्ञा दिइरहेका छन्।
एमालेभित्र अर्को राजनीतिक प्रतिस्पर्धा पनि देख्न मिलेको छ। को सामाजिक सञ्जालमा बढी बोल्न सक्छ, को बढी लेख्न सक्छ, को बढी अर्को पार्टीको विरोध गर्न सक्छ र को बढी भाइरल हुन सक्छ भन्ने। यो प्रतिस्पर्धा अझै जारी छ। तर प्रश्न के हो भने सामाजिक सञ्जालमा धेरै लेख्दैमा पार्टीको जनविश्वास फर्किन्छ?
एक वर्ष बितिसक्दा पनि एमालेले आफ्नो पुरानो छवि सुधार्न सकेको स्पष्ट संकेत देखिएको छैन। बरु पार्टीभित्र र बाहिर आलोचना बढिरहेको देखिन्छ। जेनजी आन्दोलनपछि आफूलाई नयाँ रूपमा प्रस्तुत गर्ने एमालेको प्रयास अपेक्षाअनुसार सफल हुन सकेन। एक समय देशकै सबैभन्दा लोकप्रिय राजनीतिक शक्तिमध्ये एक रहेको एमाले अहिले आफ्नो गुमेको जनविश्वास फर्काउने संघर्षमै देखिन्छ। जेनजी आन्दोलनले दिएको सन्देशअनुसार पार्टीभित्र कति वास्तविक रूपान्तरण भयो भन्ने प्रश्नको जवाफ अझै स्पष्ट छैन।
नेपाली कम्युनिष्ट पार्टी (माओवादी धार)
जेनजी आन्दोलनका बेला यो शक्ति प्रत्यक्ष रूपमा सत्तामा नभए पनि विगतका वर्षहरूमा भ्रष्टाचार, बेथिति र अनियमितताका विषयमा यो दल पनि उत्तिकै प्रश्नको घेरामा थियो। जेनजी आन्दोलनको क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डसहित १९ जना नेताहरूका घर तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको थियो। यसले एउटा कुरा स्पष्ट गर्यो, जनताको आक्रोश केवल सत्तामा रहेको एउटा दलमाथि मात्र सीमित थिएन। विगतमा राज्य सञ्चालन गरेका सबै राजनीतिक शक्तिमाथि जनताले प्रश्न उठाइरहेका थिए।
जेनजी आन्दोलनपछि माओवादी धारभित्र पार्टीलाई कसरी ठूलो राजनीतिक शक्ति बनाउने र कसरी रूपान्तरण गर्ने भन्ने बहस सुरु भयो। त्यसपछि राजनीतिक एकताको अभियान अघि बढ्यो। वि.सं. २०८२ कात्तिक १९ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित १० वटा कम्युनिष्ट घटक मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी घोषणा गरियो। यसलाई जेनजी आन्दोलनपछि नेपाली कम्युनिष्ट आन्दोलनमा आएको सबैभन्दा ठूलो संरचनात्मक परिवर्तनमध्ये एक मान्न सकिन्छ। जेनजी आन्दोलनले परम्परागत कम्युनिष्ट शक्तिहरूलाई रक्षात्मक अवस्थामा पुर्यायो र त्यसले उनीहरूलाई महाध्रुवीकरण तथा रूपान्तरणको बाटोमा जान बाध्य बनायो। तर युवा पुस्तामाझ गुमेको विश्वास फर्काउनु उनीहरूका लागि अझै ठूलो चुनौती बनेको छ।
यद्यपि निर्वाचनमा प्रचण्डको जितपछि उनको राजनीतिक चर्चा फेरि बढ्न थालेको छ। उनको अनुभव, राजनीतिक रणनीति र संगठन निर्माण गर्ने क्षमता अझै पनि नेपाली राजनीतिमा प्रभावशाली देखिन्छ। तर प्रचण्ड पनि बेला-बेला आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्। त्यसैले नेपाली कम्युनिष्ट पार्टीका लागि पनि प्रश्न उही छ। के पार्टीको नाम र संरचना बदल्नु मात्र रूपान्तरण हो, कि पुरानो राजनीतिक संस्कार पनि परिवर्तन हुन आवश्यक छ?
जेनजी आन्दोलन भएको एक वर्षपछि नेपालको राजनीतिलाई हेर्दा तीनै ठूला दल फरक-फरक अवस्थामा देखिन्छन्। नेपाली कांग्रेसले नेतृत्व र पुस्तान्तरणको दिशामा केही परिवर्तन देखाएको छ। एमाले भने अझै पनि पुरानो नेतृत्व र पुरानै राजनीतिक शैलीको घेराबाट बाहिर निस्कन संघर्षरत देखिन्छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एकता र पुनर्संरचनामार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने प्रयास गरेको छ। तर तीनै दलका अगाडि एउटा साझा चुनौती छ—युवाहरूको विश्वास कसरी फर्काउने?
आजको जेनजी पुस्ता केवल भाषण सुन्न चाहँदैन। उनीहरू परिणाम चाहन्छन्। उनीहरू पारदर्शिता चाहन्छन्। उनीहरू भ्रष्टाचारविरुद्ध वास्तविक कारबाही चाहन्छन्। उनीहरू अवसर चाहन्छन्। र सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरू आफूलाई पुराना नेताहरूको राजनीतिक खेलको दर्शक होइन, देशको भविष्यको निर्णयकर्ता ठान्छन्। जेनजी आन्दोलन भएको एक वर्ष बितिसकेको छ, तर आन्दोलनले उठाएका प्रश्नहरू अझै जीवित छन्। के नेपालका पुराना राजनीतिक दलहरू साँच्चै बदलिएका छन्? कि केवल अनुहार फेरिएका छन् र राजनीति भने पुरानै छ?