आज मध्यराति १२:०१ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा परिमार्जन गरेको हो।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम भएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा प्रतिलिटर १९७.५० रुपैयाँ तोकिएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले बढाएको छ।
सर्वसाधारणको भान्सामा प्रत्यक्ष प्रभाव पार्ने खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई साविककै अवस्थामा यथावत् राखिएको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसनले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यसूचीमा पेट्रोलमा २०.१९ रुपैयाँ र डिजेलमा ३९.६७ रुपैयाँ बढेर आएपछि निगमले यो कदम चालेको हो।
इन्धनको मूल्य समायोजन गरिए तापनि निगमलाई पाक्षिक रूपमा अझै करिब १.४९ अर्ब रुपैयाँ बराबरको घाटा हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।