राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री र उठाइएका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ। सञ्चारमाध्यममार्फत महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता आरोपहरू सार्वजनिक भएपछि पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अगाडि बढाउन निर्देशन दिएको छ।
अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले स्पष्ट पारेको छ।
सार्वजनिक भएका विषयहरूको गाम्भीर्यतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले 'कानुनभन्दा माथि कोही पनि हुँदैन' भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गरेको छ।
कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण नदिइने स्पष्ट पार्दै रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने जनाएको छ।