Nepal Aaja
07 Feb, 2026, Saturday
स्वास्थ्य

निपाह भाइरसको जोखिम न्यून, नेपालमा हालसम्म कुनै घटना पुष्टि छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको भन्दै स्वास्थ्य संयन्त्र तयारी अवस्थामा रहेको जनाएको

Staff Reporter
Staff Reporter | 2026 February 02, 04:48 PM
सारांश AI
• नेपालमा निपाह भाइरसको जोखिम हाल न्यून रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष।
• अहिलेसम्म कुनै संक्रमण पुष्टि नभएको जनाइएको छ।
• स्वास्थ्य संयन्त्र तयारी अवस्थामा रहँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह।

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको जोखिम हाल नेपालमा न्यून रहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा निपाह भाइरस संक्रमणको कुनै पनि घटना पुष्टि भएको छैन।

विश्व स्वास्थ्य संगठनको मूल्याङ्कनअनुसार विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम कम रहे पनि छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै नेपालले सतर्कता अपनाएको मन्त्रालयले जनाएको छ। यसैक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई पूर्वतयारीका लागि सचेत गराइसकेको र निपाह भाइरस परीक्षणसम्बन्धी अन्तरिम एल्गोरिदम तयार गरिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार निपाह भाइरस संक्रमित फलाहारी चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सर्न सक्छ। साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै मानिसमा संक्रमण फैलिन सक्ने जोखिम रहन्छ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, उमालेको वा सुरक्षित पानी मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउन आग्रह गरेको छ।

ज्वरो आउने, टाउको वा मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी वा वान्ता हुनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। गम्भीर अवस्थामा होस हराउने वा अचेत हुने लक्षण देखिएमा तत्काल उपचारका लागि नजिकको स्वास्थ्य संस्था वा १११५ मा सम्पर्क गर्न भनिएको छ।

मन्त्रालयले हाल स्वास्थ्य निकायहरू पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै सर्वसाधारणलाई आतङ्कित नहुन आग्रह गरेको छ। साथै अफवाहमा नपरी मन्त्रालयबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै कदम चालिरहेको जनाउँदै सबैलाई सचेत, सजग र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 टिप्पणीs

कृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।

पार्टनर स्टोरी

Related News

Trending News