काठमाडौंस्थित नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले नेपालीहरूको महान चाड दसैं, तिहार, नेपाल संवत् तथा छठका समयमा बढ्न सक्ने अनलाइन ठगी नियन्त्रणका लागि विशेष सतर्कता सूचना जारी गरेको छ। बैंकिङ कारोबार विश्लेषणका क्रममा अनलाइन ठगीका घटनाहरूमा वृद्धि भएको पाइएपछि वित्तीय प्रणाली र सर्वसाधारणलाई सम्भावित डिजिटल जोखिमबाट जोगाउन यो निर्देशन ल्याइएको हो। चाडपर्वका बेला अनलाइन खाता सिर्जना, डिजिटल बैंकिङ, इ-कमर्स र अनलाइन भुक्तानीको प्रयोग व्यापक हुने भएकाले आपराधिक समूहहरूले यसैको फाइदा उठाउने उच्च जोखिम रहेको इकाईले जनाएको छ।

अधिकारीहरूका अनुसार आपराधिक मानसिकता भएका व्यक्ति तथा समूहहरूले सामाजिक सञ्जालमा नक्कली चाडपर्व अफर र चिट्ठाको लोभ देखाएर अग्रिम शुल्क माग्ने, बैंक तथा वालेटका नक्कली वेबसाइट बनाएर केवाइसी अद्यावधिक गर्ने बहानामा ओटिपी र पासवर्ड चोरी गर्ने जस्ता गतिविधि गरिरहेका छन्। त्यसैगरी सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुटको विज्ञापन गरी अग्रिम भुक्तानी लिएर सामान नपठाउने तथा अरूको नागरिकता र तस्बिर कीर्ते गरी नक्कली खाता खोली ठगी गर्ने प्रवृत्ति समेत देखिएको छ।

ADVERTISEMENT Nepal Aaja Register

यस प्रकारका ठगीबाट बच्न वित्तीय जानकारी इकाईले सर्वसाधारणलाई आफ्नो ओटिपी, पासवर्ड र पिन कसैलाई सेयर नगर्न, शङ्कास्पद लिङ्क खोल्दै नखोल्न, अनलाइन किनमेल गर्दा पे अन डेलिभरी रोज्न र भुक्तानीअघि वेबसाइटको आधिकारिक यूआरएल जाँच गर्न आग्रह गरेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल खाता खोल्दा सशक्त केवाइसी प्रणाली लागू गर्न, लामो सार्वजनिक बिदाका समयमा एउटै ठेगाना वा नम्बरबाट खोलिएका धेरै खातामा रेड फ्ल्याग संयन्त्र सुचारु राख्न, अस्वाभाविक कारोबार पत्ता लगाउन प्रविधिको चुस्त प्रयोग गर्न र कर्मचारी एवं ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

यदि कुनै नागरिक अनलाइन ठगीमा परेमा वा परिचय दुरुपयोग भएको शङ्का लागेमा ढिला नगरी तत्काल सम्बन्धित बैंक वा वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता ब्लक गराउन र नेपाल प्रहरी साइबर ब्यूरो वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन भनिएको छ। यस्ता पूर्वसतर्कता र अनुगमन संयन्त्रले चाडपर्वका समयमा मुलुकको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।