काठमाडौँ । सत्ता गठबन्धनभित्र चर्किरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीचको मनमुटाव तत्कालका लागि अन्त्य भएको छ। दुई शीर्ष नेताबीचको टकराबले सत्ता समीकरण नै दुर्घटनामा पर्ने चिन्ता बढिरहेका बेला प्रधानमन्त्री शाह एकाएक लचक बनेका हुन्।
पछिल्लो समय प्रधानमन्त्रीले रविका कुरा र सल्लाहलाई गम्भीरतापूर्वक सुन्न थालेका छन्। उच्च स्रोतका अनुसार, प्रधानमन्त्रीको यो लचकता पछाडि एउटा विशेष राजनीतिक बाध्यता र रणनीति लुकेको छ।
"अहिलेको परिस्थितिमा रवि आफैँ प्रधानमन्त्री बन्न प्राविधिक रूपमा मिल्दैन। यदि विवाद बढ्दै गएमा सत्ताको नेतृत्वका लागि कुनै 'तेस्रो व्यक्ति' को खोजी सुरु हुन सक्छ," स्रोतले भन्यो, "त्यो तेस्रो विकल्पमा जानुभन्दा आफ्नै नेतृत्वलाई सहज र सहयोगी सिद्ध गर्नु उत्तम हुने निष्कर्षमा बालेन पुगेका हुन्।"
अरूलाई सत्ता सुम्पनुभन्दा रविका असन्तुष्टि सम्बोधन गर्दै आफूलाई नै 'सजिलो विकल्प' का रूपमा उभ्याउने बालेनको रणनीतिका कारण दुई नेताबीच सहमति जुटेको हो। शीर्ष तहमा देखिएको यो समझदारीसँगै तत्काललाई सम्भावित राजनीतिक दुर्घटना टरेको छ। बेमेलले निम्त्याउन सक्ने अस्थिरता रोकिएकाले यसलाई सकारात्मक रूपमा लिइएको छ।