एस.बी. शाह - छठ पर्वको समापनसँगै नेपाली राजनीति पुनः एकपटक भीषण सडक आन्दोलन, सम्भावित ध्रुवीकरण र शक्ति-सन्तुलनको नयाँ मोडमा प्रवेश गर्ने स्पष्ट संकेतहरू देखिएका छन्। परम्परागत वामपन्थी शक्तिहरू, नेपाली काङ्ग्रेसभित्रको असन्तुष्ट संस्थापन पक्ष र नयाँ राजनीतिक शक्तिहरूबीच सुरु भएको अदृश्य जोडघटाउले आगामी राजनीतिक दिशालाई थप जटिल र पेचिलो बनाएको छ। यस राजनीतिक घटनाक्रमको केन्द्रमा नेकपा (एमाले), पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको कम्युनिस्ट घटक र शेरबहादुर देउवा पक्षको नेपाली काङ्ग्रेसबीच बन्न सक्ने सम्भावित मोर्चा, गगन थापाको वैचारिक अडान, तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबीचको आन्तरिक एवं रणनीतिक खिचातानी रहेको छ।
नेपाली राजनीतिमा चाडपर्वपछिको आन्दोलन केवल सडक प्रदर्शन मात्र नभई सत्ता-समीकरण फेर्ने परम्परागत हतियार रहँदै आएको छ। जनमत खस्कँदो अवस्थामा रहेका बेला नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको कम्युनिस्ट पक्ष पुनः एकपटक सडक आन्दोलनमार्फत आफ्नो साङ्गठनिक शक्ति प्रदर्शन गर्न र वर्तमान सरकारलाई रक्षात्मक बनाउन एकजुट हुँदैछन्। प्रचण्डका लागि आन्दोलन सधैँ संसदीय राजनीतिमा आफ्नो बार्गेनिङ पावर बढाउने प्रमुख माध्यम हो। यस समीकरणको सबैभन्दा रोचक पक्ष भनेको शेरबहादुर देउवा पक्षको सम्भावित सहभागिता हो। गगन थापाले नेपाली काङ्ग्रेसको नेतृत्व हत्याए पनि र कतिपयको बुझाइमा गगन थापाकै उक्साहटमा जेन जी आन्दोलनका बेला देउवामाथि कुटपिट र भौतिक आक्रमण गराइएको तथा उनको घरसमेत लुटिएको आरोप लागे तापनि देउवा राजनीतिमा अझै उत्तिकै सक्रिय र प्रभावशाली छन्। पार्टीभित्र गगन थापा हाबी भएपछि र भौतिक आक्रमण भोगेर पनि रक्षात्मक बनेको देउवा गुटले आफ्नो राजनीतिक अस्तित्व र प्रभाव कायम राख्न कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्ने वा आन्दोलनलाई अप्रत्यक्ष समर्थन दिने रणनीति बनाउन सक्छ।
अर्कोतर्फ, नेपाली काङ्ग्रेसका सभापति गगन थापाले भने एमाले वा प्रचण्ड नेतृत्वको कुनै पनि आन्दोलन वा गठबन्धनमा सहभागी नहुने स्पष्ट र दृढ अडान लिएका छन्। बारम्बार कम्युनिस्ट शक्तिहरूसँग अप्राकृतिक गठबन्धन गर्दा काङ्ग्रेसले आफ्नो वैचारिक आधार र जनविश्वास गुमाएको थापाको विश्लेषण छ। तत्कालीन सत्ताको जोडघटाउबाट अलग रहेर पार्टीको लोकतान्त्रिक पहिचान जोगाउने थापाको यो कदम दीर्घकालीन राजनीतिका लागि रणनीतिक मानिए पनि, अल्पकालमा यसले काङ्ग्रेसलाई परम्परागत गठबन्धनको अंकगणितबाट बाहिर पार्ने जोखिम उत्तिकै छ। यसले नेपाली काङ्ग्रेसभित्र देउवा पक्ष र थापा पक्षबीचको दूरीलाई अझ फराकिलो बनाएको छ।
रास्वपा र त्यसका नेतृत्व तहको स्थिति अहिले राजनीतिमा सबैभन्दा द्वैध र चाखलाग्दो बनेको छ। रास्वपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार रहे पनि लामिछाने आफूमाथि निरन्तर कानुनी कारबाहीको तरबार झुन्ड्याइएको र राज्य संयन्त्रबाट अपमानित गरिएको निष्कर्षमा पुगेका छन्। आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला पनि आफूमाथि पक्राउको खतरा कायमै रहेको र पर्याप्त सम्मान नपाएको बुझाइ लामिछानेको छ। यस अपमानको बदला लिन र सरकारमा रहेरै खुला विद्रोह गर्दा हुन सक्ने क्षतिबाट बच्न लामिछानेले प्रचण्डको आन्दोलनसँग 'ब्याकडोर' वा अदृश्य सहकार्यको बाटो रोजेका छन्। प्रचण्डको आन्दोलनलाई पछाडिबाट बल पुर्याएर सत्तामाथि दबाब बढाउने उनको यो दोहोरो चाल हो।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र उनको समूहले यो राजनीतिक परिस्थिति र लामिछानेको मुभलाई निकै सूक्ष्म ढङ्गले नियालिरहेको छ। लामिछानेले अनुरोध गरेमा प्रचण्ड आन्दोलनको तीव्रताबाट पछि हट्न सक्छन् वा आन्दोलन नियन्त्रणमा आउन सक्छ भन्ने आकलन बालेन पक्षको छ। यही कारणले गर्दा पछिल्लो समय प्रधानमन्त्री बालेनले आफ्नै पार्टीका सभापति रविको कुरा सुन्न थालेका छन् र मनबाट नभए पनि बाहिर देखावटी रूपमा सम्मान र लचिलोपन व्यक्त गर्ने रणनीति अपनाएका छन्। यो कुनै वैचारिक निकटता वा आन्तरिक एकता नभई, सम्भावित भीषण आन्दोलनको तापक्रम घटाउने र सत्ता सन्तुलन मिलाउने विशुद्ध व्यावहारिक चाल हो।
छठपछिको सम्भावित आन्दोलन र ध्रुवीकरणले नेपालमा सिद्धान्त र आदर्शभन्दा राजनीतिक अस्तित्व र अवसरवाद कति हाबी छ भन्ने पुनः प्रस्ट पार्छ। एकातर्फ गगन थापा नेतृत्वको काङ्ग्रेसले पुरानै गल्ती नदोहोर्याउने वैचारिक अडान राखिरहँदा, अर्कातर्फ एमाले, प्रचण्ड र देउवा पक्ष पुरानै गठबन्धनमार्फत सत्ता र सडक कब्जा गर्ने प्रयासमा छन्। यता, एउटै पार्टी रास्वपाभित्र रहेका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको आन्तरिक अविश्वास, अपमानको बदला लिने होड र रणनीतिक दाउपेचले नेपाली राजनीतिलाई आगामी दिनमा अझ बढी अस्थिर, पेचिलो र अप्रत्याशित बनाउने निश्चित छ।