राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा नेपालको वैदेशिक सम्बन्ध र हालैका कूटनीतिक गतिविधिहरूमाथि राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन्।

हालै सम्पन्न आफ्नो भारत भ्रमणको सन्दर्भमा जानकारी दिन तथा वर्तमान सरकारको कार्यशैलीका विषयमा सुझाव सङ्कलन गर्ने उद्देश्यले सभापति लामिछानेले सोमबार यो बैठक डाक्नुभएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै दलहरूबीच छलफलको थालनी हुनु सकारात्मक भए पनि यस्ता महत्वपूर्ण भ्रमणमा जानुअगावै यस्तो बैठक बस्नु उपयुक्त हुने धारणा राख्नुभयो।

विपक्षी दलहरू गणितीय रूपमा कमजोर रहेको अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै नेताहरूले प्रारम्भिक लक्षणहरू सन्तोषजनक नदेखिएको प्रति चिन्ता प्रकट गरेका छन्।

कूटनीतिक परिपक्वताको अभाव देखिएको तर्फ सङ्केत गर्दै बैठकमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सीमा सम्बन्धमा दिनुभएको हालैको मन्तव्य उचित नभएको भन्दै आलोचना गरिएको छ।

यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणका क्रममा विगतको भारी नबोक्ने भनी दिनुभएको अभिव्यक्तिमाथि समेत बैठकमा गम्भीर प्रश्न उठाइएको छ। यस्ता भनाइले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर संविधानमा गरिएको सर्वसम्मत ऐतिहासिक निर्णयलाई समेत प्रभावित पार्न सक्ने संशय नेताहरूले व्यक्त गरे।

बैठकमा उपस्थित नेताहरूले राष्ट्रिय हितका सवालमा सरकार र जिम्मेवार दलहरूले अपरिपक्व व्यवहार त्याग्नुपर्ने सुझाव दिँदै सभापति लामिछानेलाई आफ्नो भारत भ्रमणका क्रममा प्राप्त भएको उच्च सत्कारलाई मुलुकको हितमा सदुपयोग गर्न आग्रह गरेका छन्।