राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू रवि लामिछाने र बालेन्द्र साह (बालेन) को संयुक्त चुनावी अभियानका क्रममा देखिएको खटपटको भित्री कारण बाहिरिएको छ। प्राविधिक कारण देखाउँदै स्थगित गरिएका पूर्वनिर्धारित सभाहरू खासमा सहकारी ठगी प्रकरणमा रविले दिएको अभिव्यक्तिका कारण बालेनले असन्तुष्टि जनाएपछि रद्द भएका थिए।
सुर्खेत सभाबाट सुरु भएको थियो विवाद
फागुन ७ गते बिहीबार रास्वपाले सुर्खेतको घण्टाघरमा 'परिवर्तन उद्घोष सभा' राखेको थियो। दोस्रो उपसभापति डा. स्वर्णिम वाग्लेले घोषणापत्र वाचन गरेपछि सुरु भएको उक्त सभामा बालेनले कर्णालीवासीको मन जित्ने गरी भाषण गरे, जसले ठूलो हुटिङ पायो। तर, विवाद तब सुरु भयो जब अन्तिममा बोल्न आएका रविले सहकारीको प्रसंग निकाले।
रविले उत्साहित हुँदै भनेका थिए, ‘बचत फिर्ता नपाएका नागरिकलाई सरकारले सम्बोधन गर्नुपर्छ, जनताको सरकारले पीडितलाई बचत फिर्ता दिनुपर्छ।’
सहकारी पीडितको रकम सरकारले जिम्मा लिएर तिर्नुपर्छ भन्ने रविको यो भाषण बालेनलाई फिटिक्कै मन परेन। कार्यक्रम सकिनासाथ दुई नेताबीच यसै विषयमा चर्को भनाभन भयो।
बालेनको कडा आपत्ति: "ठगको जिम्मा सरकारले लिने होइन!"
बालेननिकट स्रोतका अनुसार, बालेनले रविको भनाइमा कडा आपत्ति जनाएका थिए। बालेनको तर्क थियो, "उम्मेदवारलाई पीडितले ठगीको विवरण दिइरहेका छन्, रविजीकै नाम जोडेर प्रचार भइरहेको छ। यस्तो बेला जसले रकम दुरुपयोग गरेको छ, उसैलाई फिर्ता गर्न सरकारले बाध्य पार्छ पो भन्नुपर्ने हो ! सबै ठगको जिम्मा सरकारले लिन्छ भन्न मिल्दैन।"
काठमाडौं फर्किए बालेन, रविको फोन उठेन
सुर्खेतपछि दाङ, प्युठान, रोल्पा, सल्यानलगायतका जिल्लामा रवि र बालेनको संयुक्त ‘रोड शो’ तय भएको थियो। दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा रहेका रविका भित्रिया सहमहामन्त्री विपिनकुमार आचार्यलाई जिताउन दुवै जना त्यहाँ जाने कार्यक्रम थियो।
तर, सुर्खेतको विवादपछि दुई नेताबीच बोलचाल नै बन्द भयो। बालेन एक्कासि काठमाडौं फर्किए र केही समय रविको फोनसमेत उठाएनन्। त्यसपछि रवि एक्लै रोड शो गर्दै हिँडे भने फागुन ९ गते भैरहवा र १० गते पोखरामा तय भएका दुवै ठूला सभाहरू रास्वपाले 'समय नमिलेको र प्राविधिक कारण' भन्दै स्थगित गर्यो।
बालेनको शंका र रविको माफी
रुपन्देही र पोखरामा रास्वपा उम्मेदवारहरूलाई पीडितले सहकारीमा फसेको रकमको कागज थमाउने गरेका थिए। रविले सभामा 'बचत सरकारले फिर्ता गर्छ' भन्ने र आफ्नो क्रेज प्रयोग गरेर सहकारीको दोष लुकाउने खेल बुझेपछि बालेन ती सभामा नजाने निर्णयमा पुगेको स्रोतको दाबी छ।
फागुन १० गते पोखराको सभा सकेर बालेनलाई नेपालको पहिलो होमस्टे सिरुवारी लैजाने कास्की–१ का उम्मेदवार गणेश पौडेलको चाँजोपाँजो पनि त्यसै भत्कियो। रविले दुवै ठाउँमा सभा गर्न निकै जोड गरे पनि बालेनले नमानेपछि उनी एक्लै हिँड्न बाध्य भए।
अन्ततः, रवि र बालेनबीचको यो लफडा सतहमा आउन लागेपछि अन्य नेताहरूले मध्यस्थता गरे। नेताहरूको आग्रहमा रविले आफ्नो भनाइप्रति माफी मागेको र अब उप्रान्त सहकारी ठगीको विषय त्यसरी नउठाउने सहमति भएपछि मात्र विवाद साम्य भएको बताइन्छ।