काठमाडौँ — चर्चित मास्टर सेफ सन्तोष साहले काठमाडौँको गैरीधारा (नक्साल) स्थित आफ्नो रेस्टुरेन्ट 'मिथिला थाली' र 'जनकपुर फिस हाउस' आधिकारिक रूपमा बन्द गरेका छन्। घरबेटीसँगको सम्झौतापछि उनले क्षतिपूर्ति स्वरूप ५० लाख रुपैयाँ प्राप्त गरेका छन्। प्राप्त जानकारी अनुसार जग्गाका घरबेटीले साहलाई चार महिनाको भाडा पूर्ण रूपमा छुट दिएका छन् भने स्थानीय वडा कार्यालयमा हालसम्म तिर्न बाँकी रहेको सम्पूर्ण कर समेत तिरिदिएका छन्। शकुन्तला थापा क्षेत्री र राजेन्द्र महर्जनको हिसाब मिलान गर्नका लागि घरबेटीको तर्फबाट ५० लाखको चेक दिइएको र उक्त चेक साटिसकिएको स्रोतले पुष्टि गरेको छ।
यसअघि गत जुलाई २१ मा आफ्नो फेसबुक पेजमार्फत एक भावुक स्ट्याटस लेख्दै सेफ साहले गैरीधारा शाखा बन्द गर्ने औपचारिक जानकारी गराएका थिए। सुन्दर सम्झनाहरू जोडिएको ठाउँलाई बिदाइ गर्न सहज नहुने भन्दै उनले वर्षौंसम्मको माया र साथका लागि ग्राहक तथा टिमलाई धन्यवाद दिएका थिए। उनले झम्सिखेल शाखा निरन्तर सञ्चालनमा रहने, भर्खरै विराटनगरमा नयाँ शाखा सञ्चालनमा आएर राम्रो प्रतिक्रिया पाएको र दसैँअघि वीरगन्जमा समेत नयाँ आउटलेट खोल्ने तयारी रहेको जानकारी दिएका थिए। जनकपुर फिस हाउसका लागि भने नयाँ स्थानको खोजी भइरहेको उनको भनाइ थियो।
एकातिर घरबेटीसँग हिसाब मिलान गरेर रेस्टुरेन्ट बन्द गरिएको दाबी गरिए पनि सेफ साहमाथि आर्थिक दायित्व पूरा नगरेको गम्भीर आरोपहरू भने अझै साम्य भएका छैनन्। स्रोतका अनुसार रेस्टुरेन्टमा कार्यरत सुरक्षा गार्डले विगत ६ महिनादेखि आफ्नो पारिश्रमिक पाएका छैनन्। त्यसैगरी, बतास समूहलाई तिर्नुपर्ने बक्यौताबापत साहले ३८ लाख रुपैयाँ बराबरका तीनवटा चेक दिएको र ती सबै चेकहरू बाउन्स भएर बसेको गम्भीर दाबी स्रोतले गरेको छ।
आर्थिक विवाद र उजुरीहरू उत्कर्षमा पुगिरहँदा सेफ साह भने हाल सम्पर्कविहीन बनेका छन्। स्रोतका अनुसार पछिल्लो समय उनलाई सम्पर्क गर्न खोज्दा फोन उठाएका छैनन्। अझ रहस्यमय कुरा त के छ भने, उनको निजी गाडी समेत विगत आठ-नौ दिनदेखि गैरीधारास्थित रेस्टुरेन्ट परिसरमै बेवारिसे अवस्थामा छोडिएको छ। आर्थिक बेथिति, चेक बाउन्स र कर्मचारीको तलब नदिएको विवादका बीच चर्चित ब्रान्ड बन्द हुनु र सञ्चालक नै सम्पर्कविहीन बन्नुले यस घटनालाई थप शंकास्पद बनाएको छ।