राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी रहेको छ। निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ।

चितवनस्थित उद्योग संघको हलमा भइरहेको मतदान कार्यमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज बिहान ८ बजेसम्म २ हजार १०० महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेको जानकारी दिनुभएको छ। निर्वाचन आयोगले कुल ३८ सयदेखि ३९ सयसम्म महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान गरेको छ।

विदेशमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुका लागि भने उतैबाट मोबाइल एपमार्फत मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको छ। यसअघि पार्टीको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ। केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया सकिएलगत्तै पदाधिकारीको निर्वाचन गराउने आन्तरिक तयारी गरिएको छ।

रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरुको टुंगो लागिसकेपछि मात्र महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने वैधानिक व्यवस्था रहेको छ। विधान अनुसार पार्टीमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने अधिकार तोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो। तर महाधिवेशन प्रतिनिधि टुंगो लगाउन नसक्दा बन्दसत्र प्रभावित भई भद्रगोल बनेपछि ९ गते सक्ने भनिएको महाधिवेशन लम्बिन पुगेको हो। यस मतदान प्रक्रियाको समाप्तिसँगै नयाँ नेतृत्व चयनको मार्गप्रशस्त हुने देखिन्छ।