कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार, सन् २०२६ नोभेम्बर २१ तारिखका दिन सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको छ।
प्रतियोगिताका अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले यस पटक उपाधि भिडन्तमा एकतर्फी जित निकाल्दै आफ्नो पहिलो एनपीएल च्याम्पियनसिप ट्रफी उचालेको हो।
लुम्बिनीको १५५ रनको योगफल
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो। लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा अविजित ३९ रनको सर्वाधिक योगदान दिए भने कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन तथा निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे।
सुदूरपश्चिमको बलिङतर्फ स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, थरिन्दु रथ्नायके र हेमन्त धामीले समान १-१ विकेट हात पारे।
अविजित ओपनिङ साझेदारीमा सहज जित
१५६ रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १३.३ ओभरमा कुनै पनि विकेट नगुमाई १५८ रन बनाउँदै लक्ष्य पूरा गर्यो। ओपनरद्वय जर्ज मन्से र विनोद भण्डारीले अविजित साझेदारी गर्दै ३९ बल बाँकी छँदै टोलीलाई सानदार जित दिलाए।