काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सांगीतिक प्रस्तुति 'एक्स्ट्रीम एन्थम' सार्वजनिक गरेको छ। मैदानको खेल भावना र समर्थकहरूको उत्साहलाई एउटै सांगीतिक लयमा बाँध्ने उद्देश्यका साथ यो एन्थम सार्वजनिक गरिएको हो।

 

मुख्य र जर्सी प्रायोजन साझेदारी

ADVERTISEMENT Nepal Aaja Register

एनपीएल सिजन ३ का लागि कम्पनीले ६ वटा टोलीहरूसँग मुख्य प्रायोजकको रूपमा साझेदारी गरेको छ। जसमा काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। यस्तै, पोखरा एभेन्जर्सको जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ।

गीत तथा संगीत निर्माण टिम

युनिक पोयट भनेर चिनिने उत्साह जोशीको स्वर तथा शब्द रचना रहेको यस एन्थममा सुरज शाही (ब्लुस) ले संगीत सिर्जना र संयोजन गरेका छन्। यसको निर्माण कार्य भने 'एनएफटीपी' टिमले सम्पन्न गरेको हो।

प्रसारण र मुख्य उद्देश्य

युवा पुस्ताको संगीत र खेलप्रतिको आकर्षणलाई ध्यानमा राखी तयार पारिएको यो एन्थमले क्रिकेटप्रेमी र खेलाडीबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ। 'एक्स्ट्रीम एन्थम' एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ।