काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा एक्सट्रीम इनर्जी ड्रिङ्कले देशभरका ९ सहरका १० स्थानमा निःशुल्क फ्यान जोन सञ्चालन गर्ने घोषणा गरेको छ । क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्चक अनुभव गराउने उद्देश्यले यो पहल सुरु गरिएको हो ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका खेलहरू फ्यान जोनहरूमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् । फ्यान जोनमा दर्शकका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ, जसले समर्थकहरूलाई सामूहिक रूपमा खेलको मजा लिन र हुटिङ गर्न सहज बनाउनेछ ।

देशभरका फ्यान जोन स्थानहरू

ADVERTISEMENT Nepal Aaja Register

उपत्यकाभित्र काठमाडौँको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको २ नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन रहनेछन् । उपत्यकाबाहिर सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्र, कर्णालीको सुर्खेतस्थित घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा फ्यान जोन रहनेछन् । त्यस्तै, मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा पनि खेल प्रत्यक्ष देखाइनेछ ।

साङ्गीतिक प्रस्तुति र मनोरञ्जन

फ्यान जोनमा क्रिकेटको प्रत्यक्ष प्रसारणका साथै साङ्गीतिक प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद गतिविधि र गिभअवे कार्यक्रममार्फत आकर्षक उपहार वितरणसमेत गरिनेछ । रंगशाला पुग्न नसक्ने क्रिकेटप्रेमीका लागि यी फ्यान जोनहरू आकर्षक जमघटस्थल बन्ने अपेक्षा गरिएको छ ।