नेपाली गायक सुजन चापागाईंले विभिन्न सामाजिक संजालमा आफ्नो कथित गोप्य च्याट बाहिरिएको विषयलाई लिएर आधिकारिक स्पष्टीकरण जारी गरेका छन्। टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता प्लेटफर्महरूमा उनको 'सेक्रेट च्याट' भनिएका स्क्रिनसट र भिडियोहरू सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो। हाल आफ्नो ब्यान्ड 'सुजन चापागाईं एन्ड दि ईन्फिनिटि' सँग सांगीतिक भ्रमणको क्रममा अष्ट्रेलियामा रहेका गायकले यस घटनाप्रति आफू अत्यन्तै चिन्तित र दुःखी भएको बताएका छन्।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वक्तव्य जारी गर्दै चापागाईंले विगतमा आफूसँग निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य भएको स्वीकार गरेका छन्। यसबाट उत्पन्न भएको दुखद परिस्थितिको निम्ति उनले अन्तरहृदयदेखि नै माफी मागेका छन्। तर, सामाजिक संजालमा आएका सम्पूर्ण सामग्रीहरूका बारेमा भने आफू पूर्ण रूपमा अनभिज्ञ रहेको दाबी उनले गरेका छन्।

घटनाको पृष्ठभूमिबारे जानकारी दिँदै गायकले आफ्नो सामाजिक संजाल आफैंले मात्र ह्यान्डल गर्न सम्भव नभएकाले विभिन्न कालखण्डमा सामाजिक संजाल प्रबन्धकहरूले व्यवस्थापन गर्ने गरेको उल्लेख गरेका छन्। सोही समयमा कतै दुरुपयोग भएको हुन सक्ने उनको प्रारम्भिक अनुमान छ। यसका साथै आफ्नो नाममा धेरै फेक अकाउन्टहरू समेत सक्रिय रहेको जानकारी उनले दिएका छन्।

यस अनैतिक एवं अनुत्तरदायी हर्कतका विरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै चापागाईंले अष्ट्रेलियाको सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्केर कानुनी उपचारमा जाने बताएका छन्। उनले आगामी दिनमा यी तमाम विषयहरू प्रति गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्ने, सामाजिक संजाल प्रयोगसम्बन्धी साक्षरतालाई थप बलियो बनाउने र दर्शकश्रोताको विश्वास गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।