काठमाडौँ। सुनसरीको देवानगञ्जमा भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका २१ वर्षीय रविन्द्र मेहताको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारका क्रममा मृत्यु भएको छ।

देवानगञ्ज गाउँपालिका–३ निवासी मेहताको मङ्गलबार उपचारका क्रममा निधन भएको हो। गत साउन १० गते दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली बायाँ तिघ्रामा लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो। विराटनगरमा प्रारम्भिक उपचारपछि अवस्था जटिल बनेपछि उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

रविन्द्र मेहताको निधनसँगै सुनसरीको देवानगञ्ज घटना र त्यसपछिको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

यसअघि घट्नास्थलमै देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा निधन भएको थियो। घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको समेत मृत्यु भएको थियो।

अनशनस्थलमा झनै आक्रोश

देवानगञ्ज घटनामा घाइते अर्का युवकको पनि ज्यान गएपछि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बस्नुभएका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव र अधिकारकर्मीहरू थप आक्रोशित बनेका छन्। दोषीमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनको माग गर्दै यादव विगत केही दिनदेखि आमरण अनशनमा हुनुहुन्छ।

यसअघि मङ्गलबार नै शीर्ष मधेसी नेताहरूले अनशनस्थल पुगेर अनशनरत यादवको जीवन रक्षा र वार्ताको माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्न सरकारसँग जोडदार माग गरिसकेका छन्। घाइतेहरूको मृत्युको शृङ्खला बढ्दै गएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले सम्भावित तनावलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएका छन्।