नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साना रकम सहयोग गर्ने दाताहरूसँग फोटो नखिच्ने नीति लिएका छन्। मन्त्रालयमा राहत रकम हस्तान्तरण गर्न पुगेका प्रतिनिधिहरूसँग उनले १ करोड रुपैयाँभन्दा कम सहयोगमा फोटो नखिचाउने स्पष्ट पारेका हुन्।
तिब्बतबाट सुरु भई नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूको राहत, उपचार र पुनर्स्थापनाका लागि कर्पोरेट नेपालले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग रकम बुझाएको थियो। बिजकेयर नेपाल प्रा.लि. द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका कर्पोरेट नेपालको टोलीले अर्थमन्त्रालय पुगी सो सहयोग रकमको चेक बुझाएको हो।
राहत चेक हस्तान्तरणका क्रममा कार्यकक्षमा रहेका अर्थमन्त्री वाग्लेले सहयोग रकम १ करोड रुपैयाँभन्दा बढी छ कि छैन भनी सोधेका थिए। मिडिया हाउसले सो बराबरको ठूलो रकम दिन नसक्ने जनाएपछि उनले सानो रकमको फोटो खिच्दा सहयोग बुझाउन आउनेहरूको भीड धेरै हुने तर्क गर्दै फोटो खिचाउन अस्वीकार गरे।
यद्यपि, यसअघि विभिन्न व्यावसायिक संस्थाहरूले २० देखि २५ लाख रुपैयाँसम्म सहयोग गर्दा अर्थमन्त्रीले तस्वीर खिचाएको सामाजिक सञ्जालमा देखिएको थियो। चेक बुझाउने समयमा मन्त्रीका सचिवालयका कर्मचारीहरू समेत उपस्थित थिए।
विगत १२ वर्षभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय कर्पोरेट नेपालले बिजनेस म्यागाजिन प्रकाशनका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। सरकारी निकायमा राहत कोष संकलनको यो घटनाले सामाजिक उत्तरदायित्व र औपचारिकताको विषयलाई सतहमा ल्याइदिएको छ।