सप्तरीको राजविराजस्थित एक विपन्न महिलाले आर्थिक संकटका कारण सडकमै शिशु जन्माउनुपरेको घटनापछि प्राप्त सहयोगले सामाजिक मानवीयताको उदाहरण प्रस्तुत गरेको छ।

राजविराज नगरपालिका वडा नम्बर १४ निवासी बबिता पासवान सुरक्षित प्रसूतिका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। तर, सेवासुविधा शुल्कको जोहो गर्न बाहिर निस्कँदा तीव्र प्रसव पीडा भएपछि उनले अस्पतालको मूल ढोकानजिकै सडक पेटीमा शिशुलाई जन्म दिएकी थिइन्।

अस्पतालमा उपचाररत अवस्थामा रहेकी ती आमा र नवजात शिशुको दयनीय स्थितिबारे जानकारी पाएपछि राजविराज वडा नम्बर ७ निवासी राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्ष सुनिता साह (क्रान्ति) शुक्रबार अस्पतालमै पुगेकी थिइन्।

उनले दुवैको स्वास्थ्य र पोषणलाई ध्यानमा राखी लत्ताकपडा, झुल, स्यानिटरी प्याड, साबुन, पौष्टिक आहार तथा करिब एक महिना पुग्ने खाद्यान्न हस्तान्तरण गरिन्।

यस्ता घट्नाले आधारभूत स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँच अझै चुनौतीपूर्ण रहेको देखाउँछ भने अप्ठ्यारो पर्दा सहयोग गर्ने सामाजिक सक्रियताले तात्कालिक राहत पुर्‍याएको छ।