बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित स्वास्थ्य चौकीको अपूर्ण भवन जबरजस्ती उद्घाटन गर्न खोजिएपछि उत्पन्न विवादले हिंसात्मक मोड लिएको छ। निर्माणाधीन संरचनाको गुणस्तर र सम्पन्नताबारे प्रश्न उठाउँदै शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीयवासीमाथि प्रशासनिक बल प्रयोग हुँदा स्थानीय युवा आदित्य पासवान गोली लागेर गम्भीर घाइते भएका छन्।

यस घटनालाई लिएर राष्ट्रिय एकता दल, बाराले कडा आपत्ति जनाउँदै राज्य संयन्त्रको कदमको घोर भर्त्सना गरेको छ। दलका बारा जिल्ला अध्यक्ष अखिलेश कुशवाहाद्वारा जारी विज्ञप्तिमा सार्वजनिक भौतिक पूर्वाधारको गुणस्तर र सञ्चालन औचित्यमाथि नागरिकले उठाएका जायज सरोकारलाई सम्बोधन गर्नुको साटो लाठी र गोलीको सहारा लिनु प्रशासनको गैरजिम्मेवार एवं दमनकारी प्रवृत्तिको पराकाष्ठा भएको उल्लेख छ।

विज्ञप्ति मार्फत दलले घाइते पासवानको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने मुख्य माग अघि सारेको छ। साथै, निरपराध नागरिकमाथि गोली चलाउन आदेश दिने जिम्मेवार अधिकारी तथा घटनामा संलग्न सुरक्षाकर्मीहरूमाथि निष्पक्ष र पारदर्शी छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

स्वास्थ्य चौकी भवनको सन्दर्भमा, दलले पूर्वाधारको निष्पक्ष प्राविधिक जाँच गराई गुणस्तर सुनिश्चित गर्न र बाँकी रहेका सम्पूर्ण निर्माण कार्य पूरा भएपछि मात्र सेवा सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

नागरिकको जीउधनको रक्षा गर्नु राज्यको प्राथमिक कर्तव्य भएको स्मरण गराउँदै अध्यक्ष कुशवाहाले दमनकारी शैली तत्काल नरोकिए स्थानीय जनतालाई साथमा लिएर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।