काठमाडौँ। दियो पोस्ट अनलाइनले प्रधानन्यायाधीश र सांसदको नाम जोडी अमेरिकामा 'घूस' र फिक्सरसँग जोडेर समाचार प्रकाशित गरेपछि उत्पन्न विवादले अहिले नयाँ मोड लिएको छ। उक्त समाचारप्रति सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा उल्लिखित व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा परोक्ष संलग्नता, चिनजान वा सम्पर्क नभएको स्पष्ट पारेका छन्। उक्त अवधिमा आफू प्रधानन्यायाधीशको पदमा समेत नरहेको उल्लेख गर्दै डा. शर्माले समाचारलाई आधारहीन, झुठ्ठा र कपोलकल्पित भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्।

प्रधानन्यायाधीशको खण्डन विज्ञप्ति सार्वजनिक भएसँगै प्रहरीले दियो पोस्टको अनामनगरस्थित कार्यालयमा पुगेर सोधखोज र अनुसन्धान तीव्र पारेको छ। दलित समुदायबाट पत्रकारितामा आएका दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा सञ्चार क्षेत्रमा निरन्तर विवादास्पद र असन्तुलित समाचार प्रकाशन गर्ने पत्रकारका रूपमा चिनिन्छन्। मिडिया वृत्तमा प्रमाण र सन्तुलनबिना जे पायो त्यही लेख्ने तथा सङ्की प्रवृत्तिका रूपमा आलोचित बन्दै आएका विश्वकर्मामाथि यसपटक राज्यको उच्च न्यायिक नेतृत्वको छविमा आँच पुर्याउने गरी भ्रामक सामग्री सम्प्रेषण गरेको अभियोग लागेको छ।

पत्रकारिताको न्यूनतम मर्म र आचारसंहिता नाघेर समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले सम्पादकीय नेतृत्वलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको बुझिएको छ। प्रधानन्यायाधीशको विज्ञप्ति र प्रहरीको कदमसँगै सुरु भएको यो धरपकड र सोधपुछको घटनाक्रमले अहिले सम्पूर्ण नेपाली सञ्चार क्षेत्रमै गम्भीर बहस र तरङ्ग सिर्जना गरेको छ।