नेपाल भलिबल लिगको पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर किङ्सले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ‘एक्स्ट्रिम गौरवको यात्रा’ ट्रफी टुर सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले आफ्नो ऐतिहासिक च्याम्पियन ट्रफीलाई अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याएर खुसीयाली मनाएको हो।

नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशभरका समर्थक र खेलप्रेमीहरूसम्म पुर्‍याउने उद्देश्यले सञ्चालित यो अभियान गण्डकी प्रदेशका प्रमुख शहर तथा स्थानहरूमा सञ्चालन गरिएको थियो। यस क्रममा खेलाडी, समर्थक र स्थानीय समुदायसँग प्रत्यक्ष जोडिन विभिन्न विशेष कार्यक्रम तथा भेटघाट आयोजना गरिएको थियो।

नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता २०८३ भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना भएको थियो। ६ टोली सहभागी रहेको प्रतियोगिताको फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा (२५–१५, २५–२०, २५–१८) पराजित गर्दै उपाधि हात पारेको थियो।

पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्ण स्पाइकर किङ्सले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

यो सफलता र अभियानले नेपाली भलिबल क्षेत्रमा नयाँ उत्साह थप्दै खेल संस्कृतिलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।