अस्ट्रेलिया सरकारले देशमा बढ्दो महँगी र इन्धनको उच्च मूल्यबाट सर्वसाधारणलाई जोगाउन इन्धन करमा ५० प्रतिशत कटौती गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनाका लागि 'फ्युल एक्साइज' (अन्तःशुल्क) आधा घटाउने निर्णय गर्नुभएको हो। राज्य र क्षेत्रका प्रमुखहरूसँगको छलफलपछि क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो जानकारी दिनुभयो।

मध्यपूर्वमा जारी द्वन्द्वले निम्त्याएको तेल संकटका कारण अस्ट्रेलियामा इन्धनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि सरकारले यो कदम चालेको हो। यो निर्णयसँगै पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घट्ने अनुमान गरिएको छ। अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) का अनुसार गत साता इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर पुगेको थियो, जुन अघिल्लो साताको तुलनामा ६.३ प्रतिशतले बढी हो। त्यस्तै, डिजेलको मूल्य ९.७ प्रतिशतले बढेर ३.१ डलर पुगेको छ।

ढुवानी क्षेत्रलाई थप राहत दिन सरकारले ठूला सवारी साधनले तिर्दै आएको 'रोड युजर चार्ज' लाई पनि तीन महिनाका लागि शून्यमा झारेको छ। कोषाध्यक्ष जिम चालमर्सका अनुसार यी राहतका उपायहरू कार्यान्वयन गर्दा सरकारी ढुकुटीमा करिब २.५५ अर्ब अस्ट्रेलियन डलर बराबरको राजस्व भार पर्नेछ।

तत्कालका लागि आर्थिक भार कम गर्ने बाहेक, प्रधानमन्त्री अल्बानिजले इन्धन सुरक्षाका लागि दीर्घकालीन राष्ट्रिय योजनामा पनि सहमति जुटेको बताउनुभयो। यो योजनाले भविष्यमा हुनसक्ने यस्तै संकटहरूलाई सामना गर्न संघीय र राज्य सरकारहरूबीच सहकार्य बलियो बनाउने अपेक्षा गरिएको छ।