भारतले नेपालमा सम्पन्न निर्वाचनको सफल आयोजनालाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा व्यक्त गरेको छ।

मिडियाका प्रश्नहरूको जवाफ दिँदै भारतका आधिकारिक प्रवक्ता श्री रणधीर जैसवालले बिहीबार नेपालमा सम्पन्न निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको बताएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिएका छन्।

प्रवक्ता जैसवालका अनुसार गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा पनि नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ। उनले यसलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गरेका छन्।

भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको प्रवक्ता जैसवालले बताएका छन्। नेपाल सरकारको अनुरोधअनुसार भारतले निर्वाचनका लागि आवश्यक लजिस्टिक सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।

भारतले नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्दै दुई देश र दुई देशका जनताबीच रहेको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरेको पनि उनले बताए।