नेपाली परिकारलाई विश्वमञ्चमा पुर्‍याएका प्रसिद्ध सेफ सन्तोष साहलाई नियन्त्रणमा लिइएको घटनाप्रति उहाँको सचिवालयले गम्भीर आपत्ति जनाएको छ। हतार मानसिकताका साथ गरिएको यस किसिमको प्रहरी धरपकड र मिडियाबाजीले साहले जीवनभर कमाउनुभएको सामाजिक प्रतिष्ठा, इज्जत र गरिमामा सुनियोजित रूपमा गम्भीर धक्का पुर्‍याएको दाबी सचिवालयले गरेको छ।

यो विवाद काठमाडौँको गैरीधारास्थित ‘सिला रेष्टुरेन्ट’ खरिद प्रक्रियासँग जोडिएको हो। तत्कालीन समयमा आर्थिक संकटमा परेर घरभाडा, बैंकको ऋण र बिजुलीको महसुल समेत तिर्न नसकी बन्द हुने अवस्थामा पुगेको आर्जव होल्डिङ्स प्रालिको उक्त रेष्टुरेन्टलाई मिथिला थालीले २ करोड २५ लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौतापछि मिथिला खानाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सोही स्थानमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।

सचिवालयका अनुसार सम्झौता रकममध्ये मिथिला थालीले आर्जव होल्डिङ्सका तर्फबाट घरधनीलाई बुझाउन बाँकी ४० लाख रुपैयाँ भाडा र विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने २ लाख ७७ हजार ९९७ रुपैयाँ बक्यौता सिधै चुक्ता गरिदिएको थियो। यसका साथै आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता समेत मिथिला थालीले नै पटक-पटक बेहोर्दै आएको दाबी वक्तव्यमा गरिएको छ।

मिडियामा चर्चा चुलिएको २५ लाख रुपैयाँको विषयमा स्पष्ट पार्दै सचिवालयले बैंकिङ माध्यमबाट तोकिएको भन्दा बढी अर्थात् कुल २८ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको विवरण सार्वजनिक गरेको छ। जसमा नबिल बैंकको खातामार्फत १७ लाख, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख र नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँका चेकहरू कम्पनीकै आधिकारिक खातामा जम्मा गरिएको उल्लेख छ। आर्जवकी प्रतिनिधि सकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरे पनि संस्थागत नियमअनुसार कम्पनीकै नाममा रकम पठाइएको दाबी गरिएको छ।

यसरी करोडौँको व्यावसायिक कारोबार गरिरहँदा पनि दोस्रो पक्षबाट हालसम्म कुनै आधिकारिक बिल र कर चुक्ताको प्रमाणपत्र मिथिला थालीलाई उपलब्ध नगराइएको सचिवालयले जनाएको छ। पछिल्लो समय जम्मा ४ लाख ५० हजार रुपैयाँको विषयलाई लिएर जिल्ला अदालत काठमाडौँले गरेको फैसला विरुद्ध उच्च अदालत जाने हदम्याद बाँकी छँदै राजनीतिक वा अन्य प्रभावमा पारेर जनकपुरबाट साहलाई नियन्त्रणमा लिइनु रहस्यमयी भएको आरोप लगाइएको छ।

हाल प्रहरी हिरासतबाट मुक्त भइसक्नुभएका सेफ सन्तोष साहले यस सम्पूर्ण खरिद प्रक्रिया, बैंकिङ कारोबारका कागजात र षडयन्त्रको पृष्ठभूमिबारे छिट्टै नै आमसञ्चार माध्यममा उपस्थित भई थप यथार्थ स्पष्ट पार्ने जानकारी सचिवालयले दिएको छ।