चीनको सरकारी स्वामित्वमा रहेका व्यावसायिक संस्थाहरूमाथि लगानीकर्ताको भरोसा धर्मराउन थालेको छ। ग्वाङदोङ प्रान्तको झुहाई नगर सरकार मातहत रहेको झुहाई हुवाफा ग्रुप ऋण भुक्तानी समस्यामा परेपछि देशको कर्पोरेट क्रेडिट बजारमा नयाँ तरङ्ग पैदा भएको हो।
ब्लुमबर्गले नोभेम्बर ३ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार करिब ४१३ अर्ब चिनियाँ युआन बराबरको ब्याज लाग्ने ऋण दायित्व बोकेको हुवाफा समूहले दुईवटा ट्रस्ट उत्पादनको रकम भुक्तान गर्न सकेको छैन। यसका साथै कम्पनीले केही बैंक कर्जाको भुक्तानी अवधि थप गर्न बैंकहरूसँग आग्रह गरेको छ।
रियल इस्टेट, सहरी पूर्वाधार विकास, वित्तीय सेवा र प्रविधि क्षेत्रमा सक्रिय यस समूहको नाफामा चिनियाँ घरजग्गा बजारको दीर्घकालीन मन्दीका कारण भारी गिरावट आएको छ। कम्पनीको वित्तीय जोखिम बढ्दै गएपछि क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सले यसको रेटिङलाई नकारात्मक निगरानीमा राखेको छ।
यस संकटको सोझो असर चिनियाँ कर्पोरेट बन्ड बजारमा देखिएको छ। सरकारी कम्पनीहरूको वित्तीय जोखिमलाई लिएर लगानीकर्ताहरू सतर्क बनेपछि केही बन्डको मूल्य घटेको छ भने प्रतिफल दर वृद्धि भएको छ।
यस घटनाले सरकारी निकायहरूको अप्रत्यक्ष संरक्षण रहने भएकाले सरकारी कम्पनीहरू पूर्ण रूपमा सुरक्षित हुन्छन् भन्ने परम्परागत अवधारणामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। विश्लेषकहरूका अनुसार सम्पत्ति बजारको सुस्ती र स्थानीय सरकारको ऋण भारले ठूला सरकारी निकायहरूको वित्तीय स्थायित्व जोखिममा पारेको छ।
हुवाफाको वर्तमान समस्या अल्पकालीन तरलता अभावमा सीमित रहन्छ वा व्यापक ऋण पुनर्संरचनाको दिशामा जान्छ भन्ने कुराले चिनियाँ वित्तीय बजारको आगामी भविष्य तय गर्नेछ।