प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका प्रशासनिक तथा कूटनीतिक निर्णयहरूमाथि प्रश्न उठाउँदै जेन्जि अभियान्ता अजय सोडारीले सरकारका पछिल्ला कदमहरूको तीव्र आलोचना गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियान्ता सोडारीले प्रहरी संगठन, न्यायपालिका र राष्ट्रिय स्वाभिमानमाथि प्रहार भइरहेको दाबी गर्दै न्यायिक विवेक र कानुनी शासनको पालनाका लागि खबरदारी गरेका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सरुवा प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै सोडारीले सरकारले कानुनी प्रावधानको बेवास्ता गरी गैरकानुनी पद खडा गरेर बहालवाला आईजीपीलाई हटाएको आरोप लगाए। यो कदम अदृश्य रूपमा बर्खास्तीसरह भएको टिप्पणी गर्दै उनले राजनीतिक स्वार्थमा गरिएको यस निर्णयलाई अदालतले रोक्ने विश्वास व्यक्त गरे। साथै, उनले गृहप्रशासन सञ्चालन गर्न गृहमन्त्री सुधन गुरुङ पूर्ण रूपमा असफल भएको दाबीसमेत गरे।
पत्रकार सम्मेलनका क्रममा सोडारीले हाल चर्चामा रहेको इनम सापकोटा प्रकरणमा पनि गम्भीर आरोप लगाए। सापकोटा कुमार बेनबाट परिचालित हुनुका साथै असीम शाह र प्रधानमन्त्री बालेन शाहका मान्छे भएको दाबी गर्दै उनले सरकारले इनमको ढाडमा टेकेर न्यायपालिका, प्रहरी प्रशासन, जङ्गी अड्डा र प्रमुख राजनीतिक दलहरूमाथि आक्रमण गर्न खोजेको आरोप लगाए। त्यसैगरी, लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत आनी छोइङ डोल्माको विगतमा सम्पत्ति शुद्धीकरण र नागरिकता विवाद रहेको उल्लेख गर्दै उनले उक्त पद अस्वीकार गर्न आग्रह गरे।
अर्कोतर्फ, हालै भारत भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई सोडारीले आत्मसमर्पणवादीको संज्ञा दिए। भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्ने वाग्लेको भनाइप्रति आक्रामक बनेका सोडारीले लिपुलेक, सुस्ता, कालापानी र १९५० को असमान सन्धिका विषयमा आवाज उठाउनु भारतविरोधी हुनु नभएको बताए। उनले प्रधानमन्त्री बालेन शाहलाई तत्काल अर्थमन्त्री वाग्लेलाई बर्खास्त गरी जेनजीको मर्म र भावनाअनुसार काम गर्न सचेत गराए।
सरकारका प्रशासनिक निर्णय र कूटनीतिक दृष्टिकोणलाई लिएर चौतर्फी बहस सुरु भइरहेका बेला आगामी दिनमा न्यायालय र जनस्तरबाट आउने प्रतिक्रियाले थप राजनीतिक रूप लिने देखिएको छ।