रेडबुलले लियो प्राणभन्दा प्यारा छोराको ज्यान, बोतल भित्रको मृत्युमा किन छैन कसैको ध्यान? के अब संसारभर नै लाग्दैछ रेडबुलमा ब्यान?विज्ञापन हेर्ने कि विज्ञान हेर्ने कुराको कहिले हुन्छ ज्ञान? तपाईंको ज्यानभन्दा ठूलो होइन है रेडबुलको क्यान!
के तपाईं वा तपाईंको बच्चाले बजारमा पाइने इनर्जी ड्रिंक (जस्तै रेडबुल) लाई केवल एउटा सामान्य चिसो पेय पदार्थ वा शक्तिको स्रोत ठानेर जथाभावी पिइरहनुभएको छ? यदि त्यसो हो भने, आजैदेखि सावधान हुनुहोस्। विज्ञापनमा देखाइने चमकदमक र 'तागतको स्रोत' भनिएको सोही पेय पदार्थ असावधानीपूर्वक सेवन गर्दा ज्यान लिने 'विष' बन्न सक्छ।
यो दुःखद कथा क्यानडाका १५ वर्षीय किशोर ज्याकरी मिरोनको हो, जसले अन्जानमा गरेको एउटा सानो गल्ती उनको जीवनको अन्तिम घुट्को बन्यो। हिउँ खेल्न गएका ज्याकरीले थाकेपछि एउटा मेसिनबाट रेडबुल निकालेर पिए। तर, उनी ध्यान केन्द्रित गर्नका लागि डाक्टरको सल्लाहमा सामान्य औषधि (ADHD Medication) खाइरहेका थिए। ती औषधिहरू आफैंमा उत्तेजक प्रकृतिका हुन्छन्। जब औषधिको प्रभाव भइरहेका बेला उनले रेडबुलमा पाइने अत्यधिक क्याफिन शरीरमा हाले, तब ती दुई तत्व मिलेर मुटुमा यस्तो घातक 'ककटेल' (मिश्रण) बन्यो, जसले उनको मुटुको चाललाई अचानक रोकिदियो र उनको घटनास्थलमै मृत्यु भयो।
भ्रामक विज्ञापनको चक्रव्यूह र जनमानसमा गम्भीर भ्रम
आज हाम्रो समाजमा मानिसहरूलाई लाग्छ— "रेडबुल खाएपछि प्रचुर पोषक तत्व पाइन्छ, शक्ति पाइन्छ र यो शरीरका लागि एकदमै स्वस्थ (Healthy) चीज हो।" कर्पोरेट कम्पनीहरूको भ्रमपूर्ण विज्ञापनले मानिसको मानसपटलमा यसरी गम्भीर भ्रम सिर्जना गरिदिएको छ कि कतिपय सोझासाझा बिरामीहरूले त यसलाई स्वास्थ्यवर्धक फलफूलको जुसको सट्टामा समेत खाने गरेका छन्!
अझ विशेष गरी वर्ल्ड कप (World Cup) को माहोलमा रेडबुलले रक्सी खाएर मात्तेको (Drunk) हान्ने राँगो जस्तै आक्रामक र भ्रमपूर्ण विज्ञापन गरिरहेको छ, जसले युवाहरूलाई यो पेय पदार्थप्रति अन्धधुन्ध आकर्षित गरिरहेको छ। नेपाल जस्तो चेतनाको स्तर र नियमन प्रणाली कमजोर भएको समाजमा त बहुराष्ट्रिय कम्पनीहरूका लागि यस्ता Misrepresentation (गलत प्रस्तुतीकरण) र Misinformation (भ्रामक सूचना) फैलाउन झन् सजिलो भएको छ। विज्ञानलाई पाखा लगाएर केवल व्यापारिक फाइदाका लागि नेपाली नागरिकको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ।
नियमित औषधि खानेहरूका लागि "सकस" बन्न सक्छ इनर्जी ड्रिंक
वैज्ञानिक र चिकित्सा विज्ञहरूका अनुसार, बजारमा पाइने इनर्जी ड्रिंकहरूमा क्याफिन, चिनी र ताउरिन (Taurine) जस्ता रासायनिक तत्वहरूको मात्रा निकै बढी हुन्छ। यदि तपाईं कुनै पनि प्रकारको नियमित औषधि, विशेष गरी:
-
मुटुको औषधि
-
उच्च रक्तचाप (Blood Pressure)
-
मानसिक तनाव वा डिप्रेसनको औषधि
-
ध्यान केन्द्रित गर्ने (ADHD) औषधिहरू
सेवन गर्दै हुनुहुन्छ भने इनर्जी ड्रिंकको सेवन ज्यानमारा साबित हुन सक्छ। यी औषधिहरूले मुटु र स्नायु प्रणालीलाई एक प्रकारले सक्रिय बनाइरहेका हुन्छन्, र त्यसमाथि थपिने अत्यधिक क्याफिनले मुटुको चाललाई अनियन्त्रित (Arrhythmia) बनाई क्षणभरमै हृदयघात वा अचानक मृत्यु गराउन सक्छ।
विश्वभरि प्रतिबन्धको लहर तर नेपालमा लापर्बाही
एउटा निर्दोष बालकको ज्यान गएपछि क्यानडाको क्युबेक प्रान्तले ऐतिहासिक कदम चाल्दै १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिंक बेच्न पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको छ। पोल्यान्ड, लिथुआनिया र बेलायतजस्ता देशहरूले पनि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पेय पदार्थमा पहिले नै रोक लगाइसकेका छन्।
तर हाम्रो नेपालमा भने त्यही रासायनिक झोललाई ‘शक्तिको प्याकेट’ भनेर खुल्लमखुल्ला पानी जस्तै बगाइँदैछ। विद्यालय बाहिरका किराना पसलदेखि जिमखाना, डिस्को र रात्रीकालीन पार्टीहरूमा यसको जथाभावी प्रयोग भइरहेको छ। धेरैले त यसलाई रक्सीसँग मिसाएर झनै खतरनाक ककटेल बनाएर पिउने गर्छन्। नेपाल सरकारले २०७६ सालमै यस्ता सिन्थेटिक पेय पदार्थको आयात र बिक्रीमा कडाइ गर्ने निर्णय गरे तापनि ठूला व्यापारिक घरानाको स्वार्थ र कमिसनको खेलका कारण बजारमा यसको जथाभावी बिक्री र भ्रामक विज्ञापन अझै रोकिन सकेको छैन।
निर्णय तपाईंको: विज्ञापन हेर्ने कि विज्ञान?
विदेशी मुलुकले त एउटा बच्चा गुमाएपछि पाठ सिकेर कानुन बदल्यो। तर के हामी हाम्रा घर–घरमा यस्तै अकल्पनीय र दुःखद घटना नघटेसम्म पर्खिएर बस्ने? त्यसैले आजै सचेत बनौं।
आफ्ना बालबालिकाहरू बाहिर जाँदा के पिइरहेका छन्, ध्यान दिऔं। यदि तपाईं वा तपाईंको परिवारमा कसैले नियमित औषधि सेवन गरिरहेको छ भने इनर्जी ड्रिंकलाई 'जुस' वा 'हेल्दी ड्रिंक' सम्झने भूल कतिपय नगर्नुहोस् र यसबाट टाढै रहनुहोस्। व्यापारिक विज्ञापनको भ्रममा परेर आफ्नो अमूल्य ज्यान जोखिममा नपार्नुहोस्, किनकि तपाईंको जीवन कुनै पनि इनर्जी ड्रिंकको क्यानभन्दा धेरै गुणा मूल्यवान् छ।