एस. बी. शाह - कुनै पनि स्वाभिमानी र सार्वभौमसत्तासम्पन्न राष्ट्रका लागि उसको राष्ट्रिय झण्डा केवल रङ्गको संयोजन वा कपडाको सामान्य टुक्रा मात्र होइन; यो देशको अस्मिता, स्वाभिमान र सार्वभौम अस्तित्वको जीवन्त प्रतीक हो। अन्तर्राष्ट्रिय कूटनीतिक आचारसंहिता र आधारभूत शिष्टाचारको न्यूनतम नियमले पनि भन्छ—दुई सार्वभौम मुलुकबीच हुने कुनै पनि औपचारिक भेटवार्ता वा द्विपक्षीय छलफलमा दुवै देशका राष्ट्रिय झण्डा समान आकार, समान उचाइ र पूर्ण सम्मानका साथ प्रस्तुत गरिनुपर्छ। तर, हाम्रा परमविद्वान् तथा अर्थशास्त्रका ‘महागुरु’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणमा जुन ‘अलौकिक’ र नौलो कूटनीतिक दृश्य देखियो, त्यसले यो तथाकथित ‘चायल्ड सरकार’ को अपरिपक्वता, लाचारी र लम्पसारवादी चेतनालाई नाङ्गो रूपमा सडकमा ल्याइदिएको छ।
भारतीय समकक्षीसँगको कार्यकक्षीय वार्तामा नेपाली झण्डा नै एकातिर गायब हुनु, र प्रतिनिधिमण्डलस्तरीय बैठकमा त झन् नेपाली प्रतिनिधिहरू बसेको पछाडि पनि भारतीय झण्डा नै राखिनु कूटनीतिक ‘चमत्कार’ बाहेक अरू केही हुन सक्दैन। टेबलमा भारतको भव्य र विशाल झण्डाको अगाडि दयाको पात्रजस्तै गरी राखिएको एउटा सूक्ष्म आकारको झण्डा देखाएर चित्त बुझाउने कोसिस गर्नु झनै लाजमर्दो र हास्यास्पद दृश्य हो। आफ्नै प्रतिनिधिमण्डल बसेको स्थानमा अर्काको देशको झण्डा राखेर मुस्कुराउन सक्ने यस्तो ‘विद्वता’ र कूटनीतिक महानता विश्व इतिहासमै विरलै भेटिएला।
यो घटनालाई केवल एउटा प्राविधिक गल्ती वा सामान्य कूटनीतिक ‘ब्लन्डर’ मात्र भनेर पन्छाउन मिल्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकालले सभापति रबि लामिछाने र उपाध्यक्ष डा. स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाउँदै नेपाललाई भारतको नयाँ राज्य वा भुटानजस्तै निर्भर बनाउन लागिपरेको दाबी गर्दा धेरैलाई त्यो राजनीतिक स्टन्ट मात्र लागेको थियो। तर दिल्लीको बैठक कक्षमा नेपाली झण्डाको अस्तित्व नै लोप भएको र भारतीय झण्डाको छत्रछायाँमा बैठक बसेको दृश्यले डा. ढकालको त्यो आरोपमा कतै सत्यताको गहिरो छाया त थिएन भन्ने गम्भीर प्रश्न उब्जाएको छ। डा. वाग्लेले विगतमा ‘साम्राज्यवादी शक्तिको आफ्नै बाध्यता हुन्छ’ भन्दै दिएको विवादास्पद अभिव्यक्तिको असली प्रयोग कतै यही कूटनीतिक टेबलमा त भइरहेको छैन? के दिल्ली धाउँदा आफ्नै देशको राष्ट्रिय झण्डा जोगाउन नसक्नु र अर्काको झण्डा टोलाएर हेरिरहनु पनि ती साम्राज्यवादी शक्तिहरूप्रतिको ‘बाध्यता’ नै थियो त?
अर्कोतर्फ, स्वयं प्रधानमन्त्री बालेन्द्र साहले भारतले नेपालको सीमा मिचेको र भौगोलिक अतिक्रमण गरेको कुरा सार्वजनिक रूपमा उठाउँदै गर्दा कूटनीतिक टेबलमा राष्ट्रिय झण्डाको आकार र अस्तित्व नै यसरी खुम्च्याइनु र थिचिनु अत्यन्तै अर्थपूर्ण छ। सीमा क्षेत्रमा माटो मिचिनु र कूटनीतिक मञ्चमा राष्ट्रिय स्वाभिमानको प्रतीक झण्डा दबाइनु एउटै प्रकृतिका राष्ट्रिय मानमर्दन हुन्। भारतीय झण्डाको तुलनामा निक्कै सानो र हेपिएको झण्डा प्रयोग गरिनु नेपालको सार्वभौमसत्तामाथिको प्रत्यक्ष प्रहार हो।
खुकुलो, हल्का र सामाजिक सञ्जालको पपुलिजम्मा देश चलाउन पल्किएको यो 'बच्चा सरकार' ले त राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादाको यो गम्भीरता सायदै बुझ्ला। 'चायल्ड सरकार' का बालक प्रतिनिधिहरूका लागि त सायद झण्डा हुनु र नहुनुमा वा झण्डाको आकार सानो-ठूलो हुनुमा कुनै फरक नै पर्दैन होला। तर सार्वभौमसत्तासम्पन्न नेपाली जनताले यो कुरा स्पष्टसँग बुझ्न अति आवश्यक छ। विगतमा केपी शर्मा ओलीले कम्तीमा खोक्रो र तमासापूर्ण नै सही, राष्ट्रियताको नारा त घन्काउँथे र कूटनीतिक मञ्चहरूमा अडान लिने स्वाङ त पर्थे। तर यो सरकारले त त्यो खोक्रो अडान र देखावटी स्वाभिमान पनि जोगाउन नसकी त्योभन्दा खत्तम र बिचरा तमासा देखाउन थालेको छ।
द्विपक्षीय भेटघाटमा आफ्नै देशको झण्डाको समान आकार र मर्यादा जोगाउन नसक्ने, छिमेकीको अगाडि शिर निहुराएर राष्ट्रिय स्वाभिमान बुझाउने र समान हैसियत दाबी गर्न नसक्ने यस्तो लाचार नेतृत्वबाट नेपाली जनताले कुन राष्ट्रिय हितको अपेक्षा गर्ने? राष्ट्रिय झण्डाको प्रयोग समान आकार र सर्वोच्च सम्मानका साथ हुनुपर्थ्यो, तर ‘चायल्ड सरकार’ को यो कूटनीतिक लम्पसारवाद र अकर्मण्यताले समग्र नेपाल र नेपालीको शिर फेरि एकपटक विश्वसामु लज्जाले निहुराइदिएको छ।