अविरल वर्षासँगै बढेको लामखुट्टेको प्रकोपका कारण नेपालको बागलुङ जिल्लाभर डेंगी सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो दुई महिनाको अवधिमा जिल्लाभर डेंगीबाट प्रभावित हुनेको सङ्ख्या ६४६ पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसार बागलुङ नगरपालिकामा मात्रै सर्वाधिक ४५९ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी काठेखोलामा ४५, गलकोटमा ४३, जैमिनीमा २७ र ढोरपाटनमा १७ जना बिरामी भेटिएका छन्। अन्य पालिकामा पनि सङ्क्रमण फैलिएको छ भने बाहिरबाट उपचारका लागि आएका ३८ जनामा समेत डेंगी पुष्टि भएको छ।

बिरामीको सङ्ख्या बढेसँगै धौलागिरि प्रादेशिक अस्पतालसहित गलकोट र बुर्तिबाङ अस्पतालमा चाप ह्वात्तै बढेको छ। बागलुङ बजार क्षेत्रमा मात्रै दैनिक २० देखि ३० जना नयाँ बिरामी उपचारका लागि आउने गरेका छन्।

ADVERTISEMENT Nepal Aaja Register

हालको तथ्याङ्क सरकारी स्वास्थ्य संस्थाको मात्र भएकाले निजी क्लिनिक तथा प्रयोगशालामा परीक्षण गराउनेको सङ्ख्या जोड्दा वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ।

प्रकोप नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले हरेक शुक्रबार वडा तहमा 'खोज र नष्ट गर' अभियान तीव्र पारेको छ। लामखुट्टेको बासस्थान बन्न सक्ने ग्यारेज, पुराना टायर र पानी जम्ने ठाउँहरूको निगरानी गर्दै सरसफाइ र जनचेतना अभिवृद्धि भइरहेको छ।