देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा गत श्रावण १० गते भएको दुःखद् घटनामा परी मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको परिवार तथा गृह मन्त्रालयबीच सम्झौता भएको छ। श्रावण १४ गते गृहमन्त्री सुधन गुरुङ्ग र मृतकका अभिभावकहरूबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार नेपाल सरकारको तर्फबाट दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ। यसका साथै मृतकका परिवारलाई राहत स्वरूप प्रतिपरिवार रु. १०,००,२०० (दश लाख रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानूनी हैसियत र सम्बन्धित अन्य विषयहरूमा पनि आवश्यक छानबिन तत्काल प्रारम्भ गरिने सम्झौतामा उल्लेख छ।

मृतकका परिवारको जीवनयापनलाई सहज बनाउन दुवै परिवारका एक/एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै घटना अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानून बमोजिम यथाशिघ्र कार्यान्वयन गरिनेछ।

स्थानीय सरकारसँगको समन्वयमा मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ। सम्झौता सम्पन्न भएसँगै श्रावण १५ गते दिउँसो २:०० बजे मृतकद्वयको अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएको छ।