डा. अमरेन्द्र यादवले 'नेपाल आज' लाई खण्डन पत्र पठाउनुभएको छ। प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताको प्रावधान अनुसार यो समाचार प्रकाशित गरिएको हो। डा. यादवको भनाइलाई निष्पक्ष रूपमा यहाँ समावेश गरिएको छ।

मधेस प्रदेश सरकारका विकास योजना दिलाइदिने भन्दै रकम तथा कमिसन उठाएको आरोपमा रामेश्वर पराजुली पक्राउ परेको विषयलाई लिएर नेपाल आज अनलाइनमा प्रकाशित समाचारहरूप्रति डा. अमरेन्द्र यादवले गम्भीर ध्यानाकर्षण गराउँदै स्पष्ट खण्डन गर्नुभएको छ। गत साउन ३० र साउन ३२ गते प्रकाशित समाचारहरूमा आफ्नो नाम अनावश्यक रूपमा जोडिएको र पराजुलीलाई 'संरक्षण' गर्ने व्यक्तिका रूपमा प्रस्तुत गरिएको भन्दै उहाँले ती आरोपहरू पूर्णतः अस्वीकार गर्नुभएको हो।

खण्डन पत्रमा डा. यादवले रामेश्वर पराजुलीसँग सामाजिक रूपमा चिनजान मात्र रहेको तर उहाँको व्यक्तिगत लेनदेन वा कुनै पनि प्रकारको आर्थिक कारोबारमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ। पराजुलीमाथि प्रहरीले गरिरहेको अनुसन्धान र सत्यतथ्य बाहिर ल्याउने प्रक्रियामा आफ्नो कुनै आपत्ति नरहेको उल्लेख गर्दै उहाँले सो घटनामा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै भूमिका नरहेको बताउनुभएको छ।

मधेस प्रदेश सरकारको कुनै योजना मिलाइदिने वा कसैसँग रकम उठाउने कार्यमा आफूले कहिल्यै सहयोग, संरक्षण वा सहजीकरण नगरेको डा. यादवको भनाइ छ। पराजुलीले कसैबाट रकम लिएको वा आर्थिक कारोबार गरेको भए त्यसको जिम्मेवारी निज आफैँले व्यहोर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। साथै, आफूविरुद्ध कुनै आधिकारिक प्रमाण, जाहेरी, बैंक कारोबार वा प्रहरी प्रतिवेदन नरहेको अवस्थामा अपुष्ट स्रोतका आधारमा नाम जोडिएकोमा उहाँले आपत्ति जनाउनुभएको छ।

ADVERTISEMENT Nepal Aaja Register

समाचारमा आफूलाई 'निकट व्यक्ति' भनी उल्लेख गर्दा सामाजिक तथा व्यक्तिगत प्रतिष्ठामा असर परेको र पाठकमा भ्रम सिर्जना भएको उहाँको ठहर छ। समाचार प्रकाशन गर्नुअघि आफूसँग कुनै प्रतिक्रिया वा धारणा नलिइ समाचार सम्प्रेषण गरिनु निष्पक्ष पत्रकारिताको मर्मअनुकूल नभएको भन्दै उहाँले सो गम्भीर विषयमा भ्रम निवारणका लागि खण्डन प्रकाशित गर्न र 'निकट व्यक्ति' भन्ने उल्लेख सच्याउन माग गर्नुभएको छ। डा. यादवले सो खण्डन पत्रको बोधार्थ प्रेस काउन्सिल नेपाललाई समेत पठाउनुभएको छ।