नेपालको खेलकुद क्षेत्रलाई जगैदेखि बलियो बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले खेलकुदलाई विद्यालयको शैक्षिक पाठ्यक्रममै अनिवार्य रूपमा जोड्ने तयारी सुरु गर्नुभएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षणका क्रममा मन्त्री पोखरेलले सानो उमेरदेखि नै खेलाडी उत्पादन गर्ने वातावरण नहुनु नेपाली खेलकुदको मुख्य चुनौती रहेको बताउनुभयो। सोही समस्या समाधानका लागि आगामी ५ वर्षभित्र तल्लो तह (ग्रासरुट) बाटै व्यावसायिक खेलाडी तयार पार्ने दीर्घकालीन लक्ष्य लिइएको छ।

मन्त्री पोखरेलका अनुसार हाल नेपालका अधिकांश सफल खेलाडीहरू सेना, प्रहरी र सशस्त्र प्रहरी बलबाट उत्पादन हुनुको मुख्य कारण त्यहाँ प्राप्त हुने नियमित प्रशिक्षण, उचित आहार र आर्थिक सुनिश्चितता हो। तर, ती निकायमा १८ वर्षपछि मात्र प्रवेश पाइने हुनाले कलिलो उमेरमा हुनुपर्ने विकास ओझेलमा परेको उहाँको ठम्याइ छ। अब विद्यालय तहदेखि नै सोही स्तरको डाइट र ट्रेनिङ उपलब्ध गराएर खेल क्षेत्रको विकासलाई गति दिने मन्त्रालयको योजना छ।

ADVERTISEMENT Nepal Aaja Register

काठमाडौं महानगरपालिकामा 'रचनात्मक विद्यालय' कार्यक्रम कार्यान्वयन गर्दा भोग्नुपरेका कानुनी जटिलताहरूलाई अब नीतिगत तहमै सच्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पाठ्यक्रम विकास केन्द्र (सीडीसी) सँगको समन्वयमा खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउन लागिएको हो। यस कदमले विद्यार्थीहरूको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्फूर्तिमा समेत ठूलो योगदान पुग्ने विश्वास लिइएको छ। मन्त्री पोखरेलले आफूलाई नेतृत्वकर्ता भन्दा पनि एक 'टिम मेम्बर' को रूपमा लिएर सहकार्य गर्न खेल विज्ञ र कर्मचारीहरूलाई आह्वान गर्नुभएको छ।