काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित श्री जनक माध्यमिक विद्यालय र श्री जनहित माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि अगस्ट ३, २०२६ मा शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा र नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। कार्यक्रममा नेपाल सरकारका पदाधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

यी दुवै आयोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत अघि बढाइएका हुन्। नमोबुद्ध–४ स्थित श्री जनक माध्यमिक विद्यालयको भवन निर्माण अनुमानित रु ६.३५ करोड लागतमा सम्पन्न हुनेछ, जसमा १८ वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय र प्रशासनिक कक्षसहितका दुई ब्लक रहनेछन्। त्यसैगरी श्री जनहित माध्यमिक विद्यालयको भवन निर्माण अनुमानित रु ५.५० करोड लागतमा हुनेछ, जसमा सात कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष र शौचालय सुविधासहितका दुई ब्लक निर्माण गरिनेछ।

कार्यक्रममा बोल्दै आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले पुर्याएको प्राविधिक तथा वित्तीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नगरप्रमुख कुन्साङ लामाले विकास सहायताको प्रशंसा गर्दै नयाँ पूर्वाधारले नगरभित्रको शिक्षण वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भारत र नेपालबीचको बलियो विकास साझेदारीलाई यस कार्यक्रमले उजागर गरेको बताउँदै पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले नेपालमा ८५ शैक्षिक संस्था, १३३ स्वास्थ्य संस्था, ३० सांस्कृतिक सम्पदा र ५०,००० निजी घरहरूको पुनर्निर्माणमा सहयोग गरेको जानकारी गराउनुभयो।

यी आयोजनाहरूले नेपाल सरकारको पुनर्निर्माण अभियानलाई सहयोग पुर्याउँदै स्थानीय क्षेत्रमा शैक्षिक पूर्वाधार सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।