नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग र यातायात क्षेत्रमा थप आर्थिक दबाब पर्ने अवस्था सिर्जना भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको जानकारी दिएको छ।

बुधबार साँझ जारी सूचनाअनुसार नयाँ मूल्य तीन वर्गीय प्रणालीअनुसार लागू गरिएको छ। मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि बढाइएको छ। पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ।

ADVERTISEMENT Xtreme - Inside

आयल निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन् भने काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा समावेश गरिएका छन्।

यो मूल्य समायोजनले देशको इन्धन बजारमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ, जसले समग्र आर्थिक गतिविधिमा पनि असर पार्न सक्छ।