गृह मन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीहरूले अनधिकृत व्यक्ति वा निकायलाई गोप्य सूचना चुहाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी दिएका छन्।

मन्त्री गुरुङका अनुसार मन्त्रालय र मातहतका निकायका जिम्मेवार पदमा रहेका केही पदाधिकारी वा कर्मचारीहरूले आफ्नो पदीय हैसियत भुलेर संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पार्दै मन्त्री गुरुङले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नदिने उल्लेख गरेका छन्। यहाँ प्राप्त हुने सानोभन्दा सानो सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन र गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले बताएका छन्।

ADVERTISEMENT Max Tiger Dashain Ad

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान देश र सङ्गठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने र उनीहरूलाई कानुनी कठघरामा उभ्याइने चेतावनी मन्त्री गुरुङले दिएका छन्।

सार्वजनिक निकायहरूमा संस्थागत अनुशासन र राज्यको गोपनीयता कायम राख्न आगामी दिनमा अझ पारदर्शी र कडा प्रशासनिक कदमहरूको अपेक्षा गरिएको छ।