झापाको दमकमा निर्वाचनको मौन अवधिको समयमा मतदातालाई प्रभावित पार्न रकम बाँड्न हिँडेको आरोपमा एक युवक पक्राउ परेका छन्। केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत दमक नगरपालिका–७, श्रीपाली चोकबाट सशस्त्र प्रहरीको टोलीले ती युवकलाई बुधबार बेलुका नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलको सुरक्षा बेस बेलडाँगीबाट सहायक निरीक्षक धरणीधर पोख्रेलको नेतृत्वमा खटिएको टोलीले नियमित सवारी जाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ५३९८ नम्बरको स्कुटरलाई रोकेको थियो। जाँचका क्रममा स्कुटरको डिक्कीभित्र लुकाइएको अवस्थामा एक लाख २७ हजार रुपैयाँ नगद फेला परेपछि चालकलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीको लिखित प्रतिवेदनमा उल्लेख छ।

बरामद गरिएको नगद, सवारी साधन र पक्राउ परेका व्यक्तिलाई थप कानुनी प्रक्रियाका लागि प्रहरी हबल्दार गोपाल कार्कीको जिम्मा लगाइएको छ। झापा प्रहरीले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि र पैसा बाँड्ने जस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी तथा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

घटनाका सम्बन्धमा प्राप्त सूचनाअनुसार उक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका मतदातालाई प्रभावित पार्नका लागि प्रति भोट निश्चित रकम वितरण गर्ने उद्देश्यले सो रकम लगिएको दाबी गरिएको छ। प्रहरीले यस विषयमा हाल विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

निर्वाचनको मुखमा भएको यस प्रकारको गतिविधिले चुनावी स्वच्छता र निष्पक्षता कायम राख्न सुरक्षा निकायलाई थप सतर्क रहन सङ्केत गरेको छ।