ललितपुरको पाटनस्थित गुइत टोलमा नयाँ पुनर्स्थापित साँस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको २०८३ श्रावण १२ गते संयुक्त रुपमा उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य माननीय श्री जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले उक्त संरचनाहरुको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका अवसरमा विशिष्ट व्यक्तिहरुले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत विधि तथा समारोहहरुमा सहभागिता जनाउनुभयो ।
उक्त कार्यक्रममा नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारीहरुको उपस्थिति रहेको थियो । साथै स्थानीय समुदायका प्रतिनिधिहरु तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग करिब नेरु. १२ करोड लागतमा गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको आगमको पुनर्निर्माण गरिएको हो । यो आयोजना नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) द्वारा कार्यान्वयन गरिएको हो, जसको डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रष्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेज (INTACH) ले उपलब्ध गराएको थियो ।
माननीय श्री जगदीश खरेलले कार्यक्रममा बोल्दै स्थानीय समुदायको उत्थानशीलताको प्रशंसा गर्नुभयो र गुस्तल महाविहारजस्ता प्राचीन जीवन्त सम्पदा स्थलहरुको संरक्षणको आवश्यकतामाथि जोड दिनुभयो । वहाँले साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्स्थापनाका लागि भारत सरकारले प्रदान गरेको सहयोगको पनि कदर गर्नुभयो ।

यसैगरी नगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर र नेपालका अन्य जिल्लाहरुमा साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । वहाँले यस कार्यमा स्थानीय समुदायले गरेको सहयोगको पनि तारिफ गर्नुभयो ।
भारतीय राजदूतले आफ्नो मन्तव्यमा भारत र नेपालबीचको गहिरो साँस्कृतिक सम्बन्धका बारे प्रकाश पार्नुभयो । वहाँले नेपालका ऐतिहासिक धरोहरहरुको पुनर्स्थापनाका लागि भारतले गर्दै आएको निरन्तर सहयोगको चर्चा गर्दै यी पुनर्निर्माण गरिएका संरचनाहरु दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीकका रुपमा रहेको कुरा उल्लेख गर्नुभयो ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ वटा जिल्लाका ३० वटा साँस्कृतिक सम्पदा स्थलहरुको संरक्षणमा सहयोग गरेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० निजी आवासहरुको पुनर्निर्माण, ८ वटा जिल्लामा ८५ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण र नेपालका ११ वटा जिल्लामा १३३ वटा स्वास्थ्य संरचनाहरुको पुनर्निर्माणमा पनि सहयोग गरेको छ ।
यो परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासको सराहना गर्नुका साथै भारत र नेपालबीचको गहिरो र व्यापक विकास साझेदारीलाई समेत प्रतिविम्बित गर्दछ ।