भारततर्फ हुने विद्युत् निर्यातबाट नेपालले उल्लेख्य राजस्व आर्जन गर्ने बाटो खुलेको छ। भारतीय पक्षले आज नेपालबाट ६१५.०२ मेगावाट विद्युत् भारत निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेसँगै मुलुकको ऊर्जा व्यापारमा नयाँ उत्साह थपिएको हो।

स्वीकृतिअनुसार उक्त परिमाणको विद्युत् चारवटा अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत पठाइनेछ। जसमा मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी प्रसारण लाइनसहित १३२ केभी क्षमताका कटैया–कुशाहा, रक्सौल–परवानीपुर र रामनगर–सुरजपुरा प्रसारण लाइन समावेश छन्।

नेपालको अर्थतन्त्रमा विद्युत् व्यापारको योगदान क्रमशः बलियो बन्दै गएको छ, जहाँ गत आर्थिक वर्षमा मात्रै भारततर्फको खुद विद्युत् निर्यातबाट नेपालले करिब १,८०० करोड नेपाली रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। पछिल्लो स्वीकृतिसँगै चारवटै प्रसारण मार्गबाट बिजुली प्रवाह सहज हुने भएपछि आगामी दिनमा नेपालको राजस्व संकलन र क्षेत्रीय ऊर्जा साझेदारी अझ सुदृढ हुने अपेक्षा गरिएको छ।