सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित शैल्यशिखर नगरपालिका-९ मा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको लागि आज संयुक्त रूपमा शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव श्री बसिस्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख श्री विजयसिंह धामीले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो।

नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने उद्देश्यले यो विद्यालय भवन निर्माणका लागि भारत सरकारले लगभग ७५ मिलियन नेपाली रुपैयाँ (७.५ करोड रुपैयाँ) वित्तीय सहायता उपलब्ध गराएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको यो परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। यो दार्चुला जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख तथा अन्य सरोकारवालाहरूले भारत सरकारले पुर्याउँदै आएको विकास निर्माणको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। नयाँ पूर्वाधार निर्माण भएसँगै शैल्यशिखर नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूका लागि पठनपाठनको वातावरणमा उल्लेखनीय सुधार आउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो।

निकट छिमेकीका रूपमा नेपाल र भारतबीच बहुक्षेत्रीय सहयोग कायम रहँदै आएको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले नेपालको समग्र विकास, समृद्धि र प्राथमिक क्षेत्रको पूर्वाधार सुदृढीकरणमा भारतको निरन्तर सहयोग रहेको पुष्टि गर्दछ।