सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–१० मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज संयुक्त रुपमा शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती नीलम लेखक जोशीले सो भवनको शिलान्यास गर्नुभएको हो।

नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारको करिब १.९ करोड रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो। भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो परियोजना कञ्चनपुर जिल्लामा सञ्चालित ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

समारोहमा उपप्रमुख जोशी तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकहरुका लागि उपयुक्त सिकाइको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो। नजिकको छिमेकी मित्रराष्ट्रका रुपमा रहेको भारतले नेपालको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गरी समृद्धि हासिल गर्ने प्रयासमा निरन्तर सहयोग पुर्याउँदै आएको छ।