मनाङ जिल्लाको दुर्गम नासोँ गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित भारतीय सरकारको सहयोगमा अस्पताल भवन निर्माण परियोजना सुरु गरिएको छ।
नासोँ गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुने उक्त भवनको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले संयुक्त रूपमा गर्नुभएको हो।

यो परियोजना भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास कार्यक्रमअन्तर्गत करिब ५.६ करोड रुपैयाँको आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो र स्थानीय तहमार्फत कार्यान्वयन हुनेछ।
स्थानीय जनप्रतिनिधिहरूले भारत सरकारको निरन्तर विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ संरचनाले स्वास्थ्य सेवामा पहुँच सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल–भारतबीचको विकास सहकार्य अन्तर्गत यस्ता परियोजनाले आधारभूत सेवाहरू सुदृढ गर्न योगदान पुर्याइरहेको उल्लेख गरिएको छ।
