भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण बाढीका कारण मानिसहरूको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै भारतीय प्रधानमन्त्रीले विपद्को यस कठिन घडीमा पीडित परिवारजनप्रति सहानुभूति प्रकट गरेका हुन्।

बाढीको विषयमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी भएको जनाउ दिँदै प्रधानमन्त्री मोदीले यो कठिन समयमा भारतका नागरिकहरू नेपालका दाजुभाइसँगै रहेको बताएका छन्। उनले छिमेकी मित्रराष्ट्रलाई परेको विपत्तिमा ऐक्यबद्धता जनाउँदै भारत सदैव साथमा रहेको स्पष्ट पारेका छन्।

ADVERTISEMENT Max Tiger INLINE

नेपाललाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्, “नेपाललाई सम्भावित सबै मानवीय सहायता उपलब्ध गराउनका लागि भारत तयार छ। उद्धार तथा राहत कार्यमा हाम्रा टोलीहरू नजिक रहेर समन्वय गरिरहेका छन्।”

दुवै देशका अधिकारीहरूबीच जारी समन्वयले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।